नृसिंह धामलाई ‘अन्डर वाटर टेम्पल’ बनाउन सांसद थपलियाको माग

Avatar photo
Dhadingpost
जेष्ठ २९, २०८३

धादिङ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य उर्मिला थपलिया ले धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंह धामलाई ‘अन्डर वाटर टेम्पल’का रूपमा विकास गर्न सरकारसँग माग गरेकी छन् ।

संसद बैठकमा बोल्दै सांसद थपलियाले बुढीगण्डकी र नेत्रावती नदीको संगमस्थलमा अवस्थित नृसिंह धाम धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण तीर्थस्थलका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै यस क्षेत्रलाई राष्ट्रिय सम्पदा घोषणा गर्नुपर्ने बताइन् ।

उनले बुढीगण्डकी जलाशय आयोजनाका कारण डुबान क्षेत्रमा पर्ने नृसिंह धामको संरक्षण र प्रवर्द्धनका लागि विशेष योजना आवश्यक रहेको धारणा राखिन् । सोही क्रममा विश्वका विभिन्न मुलुकमा रहेका जलमुनिका धार्मिक संरचनाको उदाहरण दिँदै नृसिंह धामलाई ‘अन्डर वाटर टेम्पल’का रूपमा विकास गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

सांसद थपलियाले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको नृसिंह धामलाई संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताइन् । उनका अनुसार उक्त क्षेत्रलाई राष्ट्रिय सम्पदाको रूपमा विकास गर्न सके धादिङको धार्मिक पर्यटनमा समेत टेवा पुग्नेछ ।

बुढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने नृसिंह धाम संरक्षणको विषय स्थानीयवासी तथा सरोकारवालामाझ लामो समयदेखि चासोको विषय बन्दै आएको छ। सांसद थपलियाको पछिल्लो मागसँगै उक्त विषय पुनः राष्ट्रिय बहसको केन्द्रमा आएको छ ।