
काठमाडौँ । ‘हाम्रो कथाघर’ले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर पारेर खुला कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाले तीन वर्ष पूरा गरी आगामी २०८३ असार २ गते चौथो वर्षमा प्रवेश गर्न लागेकाले सोही अवसरमा विश्वभर रहेका नेपालीभाषी कविहरूलाई लक्षित गर्दै प्रतियोगिता गर्न लागिएको हो ।
संस्थाद्वारा जारी सूचनाअनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक सर्जकहरूले २०८३ वैशाख १५ गतेदेखि वैशाख ३० गते साँझ ७ बजेसम्म आफ्ना मौलिक कविताहरू पठाउन सक्नेछन् । कविता शुद्ध नेपाली भाषामा, मर्यादित शब्द प्रयोगसहित कम्प्युटर टाइप (युनिकोड वा प्रीति फन्ट) गरिएको हुनुपर्नेछ ।
कविताको विषयवस्तु खुला राखिएको भए पनि शब्द सीमा न्यूनतम ५० देखि अधिकतम १५० शब्दसम्म निर्धारण गरिएको छ । यसअघि कुनै पनि माध्यममा प्रकाशित वा प्रसारण भएका र मापदण्ड पूरा नगरेका कविताहरू प्रतियोगितामा समावेश गरिने छैनन् ।
प्रतियोगितामा सहभागी हुँदा कवितासँगै आफ्नो हालसालै खिचिएको फोटो, पूरा नाम, ठेगाना, सक्रिय ह्वाट्सएप नम्बर र इमेल ठेगाना अनिवार्य रूपमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।
प्राप्त कविताहरूलाई गोप्य कोडिङ गरी निर्णायक मण्डलमार्फत मूल्याङ्कन गरिनेछ । उत्कृष्ट ३० कविताहरूको सूची २०८३ जेठ ५ गते सार्वजनिक गरिने जनाइएको छ । प्रतियोगिताको अन्तिम नतिजा भने २०८३ असार २ गते ‘हाम्रो कथाघर’को आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी घोषणा गरिनेछ ।
प्रतियोगितामा प्रथम हुनेले रु. १० हजार, द्वितीयले रु. ८ हजार र तृतीयले रु. ५ हजार नगदसहित डिजिटल प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट दुई जनालाई जनही रु. १ हजारसहित सान्त्वना पुरस्कार प्रदान गरिनेछ ।
इच्छुक सहभागीहरूले आफ्ना सिर्जना hamrokathaghar083@gmail.com इमेलमार्फत पठाउन सक्नेछन् । थप जानकारीका लागि अध्यक्ष जीवन सोनी तथा संरक्षक डा. दामोदर पुडासैनी ‘किशोर’सँग सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

