
धादिङ । जेन-जी युवाहरूले सामाजिक सञ्जालको निर्वाध सञ्चालन, सुशासन र भ्रष्टाचारविरुद्ध भदौ २३ गते सुरु गरेको आन्दोलनका क्रममा भएका घटनाप्रति धादिङका प्रमुख राजनीतिक दलहरूले संयुक्त वक्तव्य जारी गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) धादिङका नेताहरूले बिहीबार संयुक्त रूपमा विज्ञप्ति निकाल्दै आन्दोलनमा परी ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारजनप्रति संवेदना प्रकट गरिएको छ।
विज्ञप्तिमा आन्दोलनका क्रममा युवाहरूको ज्यान जाने अवस्था सिर्जना हुनुप्रति गम्भीर आपत्ति जनाइएको छ। दोषीमाथि छानबिन गरी कानुनबमोजिम कडा कारबाहीको माग गरिएको छ ।
यस्तै भदौ २४ गते देशव्यापी रूपमा भएका आगजनी, तोडफोड, लुटपाट र हिंसात्मक घटनाप्रति दलहरूले चिन्ता व्यक्त गरेका छन् । राज्यका सरकारी भवन, उद्योग–व्यवसाय, मिडिया हाउस, होटल, गाडी र हजारौँ निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको तथा कैदीबन्दी जेलबाट भाग्दा शान्ति सुरक्षामा गम्भीर चुनौती थपिएको वक्तव्यमा उल्लेख छ ।
दलहरूले “जेन-जीले उठाएका एजेन्डा राम्रा भए पनि त्यसलाई केही स्वार्थी र विदेशी शक्तिले दुरुपयोग गरेको देखिन्छ” भन्दै सचेत रहन आम नागरिक, संघ–संस्था, कर्मचारी, पत्रकार र लोकतन्त्रवादी शक्तिलाई आव्हान गरेका छन् ।
प्रधानमन्त्रीको राजीनामापछि देश अन्योलमा परेको सन्दर्भमा वक्तव्यमा संविधानसम्मत तरिकाले निकास खोजिनुपर्नेमा जोड दिइएको छ। “संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्न सम्पूर्ण न्यायप्रेमी जनताले एकजुट भई अघि बढ्नुपर्छ,” वक्तव्यमा भनिएको छ ।
साथै, हाल विभिन्न समूहले अस्थिरताको फाइदा उठाउँदै समुदायमा लुटपाट र शान्ति सुरक्षामा समस्या ल्याइरहेको भन्दै दलहरूले स्थानीय युवाहरूलाई सुरक्षादस्ता बनाई सुरक्षा निकायलाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।
संयुक्त वक्तव्यमा एमाले धादिङका भूमि त्रिपाठी, कांग्रेस धादिङका गेहेन्द्र मल्ल, माओवादी केन्द्र धादिङका मनराज भण्डारी (शैलेस), नेकपा (एकीकृत समाजवादी) धादिङका कार्यवाहक सभापति र नारायणबहादुर कार्की (संयोजक) लगायतका नेताहरूको हस्ताक्षर रहेको छ ।

