धादिङमा आज पनि कर्फ्यू जारी, जनजीवन प्रभावित

Avatar photo
Dhadingpost
भदौ २६, २०८२

धादिङ । धादिङ सदरमुकाममा आज पनि कर्फ्यू जारी रहँदा जनजीवन पूर्ण रूपमा प्रभावित बनेको छ। प्रमुख जिल्ला अधिकारी (सीडीओ) विजयराज सुवेदीले हिजो (भाद्र २५ गते) साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेका थिए ।

नीलकण्ठ नगरपालिकाभित्र पर्ने धादिङबेसी क्षेत्रमा लागू भएको आदेशअनुसार पूर्वमा इजारा चौतारा, पश्चिममा धादिङबेसी–सल्यानटार सडक, उत्तरमा थोपल खोला र दक्षिणमा अरुङ खोलासम्मको क्षेत्र कर्फ्यूको दायरामा पर्छ ।

आदेशअनुसार कर्फ्यू अवधिमा कसैले पनि स्वतःस्फूर्त वा योजनाबद्ध रूपमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा कुनै गतिविधि गर्न पाउने छैनन् । अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानवअधिकारकर्मी, कुटनीतिक नियोगका सवारी साधन र हवाई टिकट भएका यात्रुको आवतजावत भने सुरक्षाकर्मीको सहजीकरणमा हुने जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी सुवेदीले आज बिहान हामीसँग कुरा गर्दै, “स्थिति सामान्य बनोस्, सम्भावित लुटपाट नहोस्, सम्भावित अराजक गतिविधि रोक्नका लागि कर्फ्यू लगाइएको हो । जनजीवन प्रभावित भएकोमा दुखी छौं । अवस्था हेरेर कर्फ्यू नलगाउने निचोडमा पुग्छौँ तर आज दिनभर कर्फ्यू हट्दैन, बेलुका सम्म हेर्नेछौँ,” भने ।

जिल्ला प्रशासन कार्यालयले आदेश उल्लंघन गर्ने जो कोहीमाथि प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिएको छ ।

तस्वीर: दिलिप श्रेष्ठ