
धादिङ । पछिल्ला दिनमा देशका विभिन्न शहरहरूमा भड्किएको जेन–जी आन्दोलनका कारण सुरक्षा स्थिति संवेदनशील बनेपछि धादिङ सदरमुकाममा कर्फ्यू आदेश जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विजयराज सुवेदीले बुधबार (भाद्र २५ गते) साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेका हुन् ।
सीडीओ सुवेदीले जारी गरेको आदेशअनुसार नीलकण्ठ नगरपालिका भित्र पर्ने धादिङबेसी क्षेत्रमा कर्फ्यू लागू हुनेछ। पूर्वमा इजारा चौतारा, पश्चिममा धादिङबेसी–सल्यानटार सडक, उत्तरमा थोपल खोलासम्म र दक्षिणमा अरुङ खोलासम्मको क्षेत्र कर्फ्यूको दायरामा पर्ने जनाइएको छ ।
आदेशअनुसार कर्फ्यू अवधिमा कसैले पनि स्वतःस्फूर्त वा योजनाबद्ध रूपमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा कुनै पनि गतिविधि गर्न पाउने छैनन् । अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानवअधिकारकर्मी, कुटनीतिक नियोगका सवारी साधन र हवाई टिकट भएका यात्रुहरूको आवागमन भने सुरक्षाकर्मीको सहजीकरणमा हुने जनाइएको छ ।
आदेश उल्लंघन गर्ने जो कोहीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि जिल्ला प्रशासन कार्यालयले दिएको छ ।
