
धादिङ । धादिङ कारागारभित्र कैदीबन्दीहरूले आगजनी गर्दै भाग्ने प्रयास गरेपछि सेना परिचालन गरी गोली प्रहार गरिएको छ । घटनामा एक कैदीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
कारागारभित्र कैदीहरूले आगजनी गर्दै भाग्ने प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले बल प्रयोग गरेका थिए । स्थिति नियन्त्रणमा लिन सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र दमकल समेत परिचालन गरिएको थियो ।
घटनापछि थप अप्रिय स्थिति हुन नदिन जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी (सीडीओ) विजयराज सुवेदीले बुधबार जारी गरेको आदेशअनुसार जिल्लाभर ५ जनाभन्दा बढी भेला भई जुलुस, धर्ना, अनशन, घेराउ, सभा तथा प्रदर्शन जस्ता गतिविधि गर्न रोक लगाइएको छ। आदेश बुधवार (भाद्र २५) दिउँसो १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि लागू हुने जनाइएको छ।
