अमेरिकाको बोल्डरमा काठमाडौंको झल्को, इन्द्रजात्रा भव्य रुपमा सम्पन्न

Avatar photo
Dhadingpost
भदौ २३, २०८२

नातिबाबु भट्ट । धार्मिक आस्था, सांस्कृतिक धरोहर र सामुदायिक एकतालाई एकैसाथ प्रस्तुत गर्ने इन्द्रजात्रा यो वर्ष अमेरिकाको कोलोराडो राज्यमा पनि भव्यताका साथ सम्पन्न भएको छ । नेवाः समुदायको बाक्लो उपस्थिति रहेको बोल्डर सहर यतिबेला काठमाडौंको बसन्तपुर दरबार क्षेत्रकै झल्को दिने रंगीन र रमाइलो परिवेशमा डुबेको थियो ।

कोलोराडो नेवाः खलःको आयोजनामा आइतबार बोल्डरको बेण्डसेलमा भएको यस भव्य पर्वमा कुमारीको रथ तानिँदा स्थानीय नेपाली समुदाय मात्र होइन, अमेरिकीहरू समेत आकर्षित भए । रथयात्रासँगै पुलुकिसी नाच, धिमेबाजा, धिमेनाच, लाखेनाच तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रममा उत्साह थपेका थिए ।

कार्यक्रम गणेश, कुमारी र आकाश भैरवको विधिपूर्वक पूजा आराधनासहित प्रारम्भ गरिएको थियो । प्रमुख अतिथि बोल्डरकी डेपुटी मेयर लरेन फोल्कर्ट्सले कुमारी रथमा अंकित भैरवलाई फूलमाला अर्पण गरेर रथयात्रा शुभारम्भ गरिन् ।

परम्परागत पहिरनमा रंगिएको अमेरिका

सांस्कृतिक पहिरनमा सजिएका दाजुभाइ दिदीबहिनीहरूको भीड देख्दा मानौँ काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा नै उपस्थित भएको भान हुन्थ्यो । स्थानीय संघ–संस्थाका पदाधिकारी, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, कलाकारदेखि आम नागरिकसम्मको बाक्लो उपस्थिति यस वर्षको इन्द्रजात्राको विशेष आकर्षण रह्यो ।

डेपुटी मेयर लरेन फोल्कर्ट्सले कार्यक्रममा शुभकामना व्यक्त गर्दै बोल्डर जस्तो बहुसांस्कृतिक शहरमा नेपाली समुदायले आफ्ना परम्परा जगेर्ना गरेको देख्दा गर्व लागेको बताइन् । त्यस्तै, हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठले परदेशमा संस्कृति जोगाउन सबैको साझा भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

संस्कृतिसँगै समुदायको आत्मीयता

दिउँसो १२ बजेदेखि ४ बजे सम्म सञ्चालन भएको कार्यक्रमलाई अतिशा बज्राचार्य र सबिता श्रेष्ठले संयूक्त रूपमा सञ्चालन गरेका थिए । कार्यक्रमको अन्त्यमा सबै सहभागीलाई सामेवजी प्रसाद वितरण गरिएको थियो । यसले सहभागीहरूबीच आत्मीयता र सामूहिकताको भावनालाई अझ प्रगाढ बनायो ।

काठमाडौंदेखि बोल्डरसम्म

नेपालमा इन्द्रजात्रा भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ दिनसम्म विभिन्न नाचगान, रथयात्रा र धार्मिक अनुष्ठानसहित काठमाडौं, भक्तपुर र ललितपुरमा मनाइन्छ । जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने, मजिपा लाखे नाच र पुलुकिसी (ऐरावत हात्तीको प्रतीक) देखाउने परम्परा काठमाडौंमा हुन्छ भने भक्तपुरमा महाकाली र दसअवतार नाच प्रमुख आकर्षणका रूपमा प्रस्तुत हुन्छ ।

बोल्डरमा सम्पन्न इन्द्रजात्राले यही परम्पराको झल्को मात्र होइन, नयाँ पुस्तालाई आफ्नै संस्कृतिप्रतिको चासो र गर्व जगाउने काम गरेको छ । यसरी परदेशमा पनि धर्म र संस्कृति जोगाउँदै समुदाय एकताबद्ध हुनु नेपालीहरूको पहिचानलाई अझ बलियो बनाउने उदाहरण बनेको छ ।