
लिस्बन, पोर्चुगल । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाली राजदूतावास, लिस्बनले पोर्चुगलवासी नेपाली नागरिकलाई लेख तथा रचना पठाउन आह्वान गरेको छ । राजदूतावासले नेपालका आर्थिक विकासमा पोर्चुगलवासी नेपालीहरुको भूमिका र अवसरसँग सम्बन्धित विषयमा लेख/रचना आमन्त्रण गरेको हो ।
राजदूतावासका अनुसार लेख/रचनामा समेटिनुपर्ने मुख्य विषयहरुमा पोर्चुगलमा रहेका नेपाली डायस्पोराको आर्थिक तथा सामाजिक स्थिति, नेपालको आर्थिक लगानीका सम्भावना र क्षमता, पोर्चुगलमा नेपाली उत्पादनको बजार प्रवर्द्धनका अवसर, तथा पर्यटन र सांस्कृतिक सम्बन्ध विस्तारमा खेल्न सक्ने भूमिकालगायत रहेका छन् ।
लेख/रचना नेपाली भाषामा लेखिएको हुनुपर्नेछ र अधिकतम २००० शब्दभित्र सीमित गर्नुपर्ने राजदूतावासले जनाएको छ। इच्छुकहरुले १५ सेप्टेम्बर २०२५ भित्र राजदूतावासमा पठाइसक्नुपर्नेछ ।
लेख/रचना राजदूतावासको ठेगाना Rua Pero de Alenquer 29, 1400-293, Lisboa मा प्रत्यक्ष वा इमेल eonlisbon@gmail.com मार्फत पठाउन सकिनेछ ।
प्रतियोगितामा विजयी हुनेलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरिनेछ भने उपविजेतालाई समेत सम्मान गरिने राजदूतावासले जानकारी दिएको छ । साथै, प्राप्त लेख/रचनाहरुले राजदूतावासलाई मूल्यवान जानकारी दिनुका साथै भविष्यमा उपयुक्त कार्यक्रम सञ्चालन गर्न मार्गदर्शक हुने अपेक्षा राखिएको छ ।
