
धादिङ। निजी तथा आवासीय विद्यालय सङ्घ (प्याब्सन) सँग आवद्ध धादिङका विद्यालयहरुले आज कालो झण्डा बोकी प्रदर्शन गर्ने भएका छन् ।
शिक्षा क्षेत्रसम्बन्धी सरकारले ल्याएको नीतिहरूका विरुद्ध दबाब सिर्जना गर्न आज बिहान जिल्लाभरका विद्यालयहरुले आफ्नो–आफ्नो परिसरमा कालो झण्डा प्रदर्शन गर्ने तयारी गरेका हुन् ।
धादिङका टीका थपलियाका अनुसार आज विद्यालयतगर रुपमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । स्कुल बसहरुमा कालो झण्डा राखिने छ भने शिक्षकहरु बीच आन्दोलनको विषयमा अन्तरक्रिया सँगै कालो झण्डा बोकेर विरोध गरिने छ ।
सरकारको पछिल्लो निर्णयले निजी विद्यालय अस्तित्वमै संकट आउने अवस्था देखिएको भन्दै प्याब्सन केन्द्रीय समितिले विभिन्न विरोधका कार्यक्रमहरु गर्दै आएको छ। सोही केन्द्रीय कार्यक्रमअनुसार नै आज धादिङमा पनि प्रदर्शन हुन लागेको हो । तथापि, अध्ययन–अध्यापनलाई भने निरन्तरता दिने जानकारी प्याब्सन धादिङका उपाध्यक्ष थपलियाले धादिङपोष्टलाई बताए ।
प्याब्सनका मुख्य मागहरू
१. “पूर्ण छात्रवृत्ति” शब्द हटाउन
शिक्षा विधेयकमा समावेश गरिएको “पूर्ण छात्रवृत्ति” शब्द हटाउनुपर्ने माग गरिएको छ, किनकि यसले निजी विद्यालयहरूलाई अत्यधिक आर्थिक बोझमा पार्न सक्छ।
२. नयाँ शर्तहरू हटाउन
विद्यालयहरूले प्रदान गर्नुपर्ने भनिएका वर्दी, स्टेशनरी, शैक्षिक सामग्री, खाना जस्ता अनावश्यक खर्चिला शर्त हटाउनुपर्ने माग गरिएको छ।
त्यस्तै, कम्पनी ऐनअनुसार दर्ता भएका विद्यालयहरुलाई क्रमशः “गैर-नाफामुखी” संस्थामा रूपान्तरण गर्ने प्रावधान पनि हटाउनुपर्ने माग गरिएको छ।
३. छात्रवृत्ति वितरण अधिकार विद्यालयकै अधिकार हुनुपर्छ
छात्रवृत्ति वितरण प्रक्रियालाई विद्यालयकै अधिकारमा राख्नुपर्छ र पारदर्शी समिति (नगरपालिका प्रतिनिधिसहित) गठन गरी वितरण गर्नुपर्ने माग गरिएको छ।
४. अनुचित आरक्षण प्रणाली हटाउन
छात्रवृत्तिको आरक्षण व्यवस्था जसले केवल समुदाय विद्यालयको कक्षा ६–१० बाट पढेका विद्यार्थीलाई मात्र लाभ दिने व्यवस्था छ, यो भेदभावपूर्ण भएकाले हटाउनुपर्ने माग गरिएको छ।
५. शुल्क व्यवस्थापनमा स्वतन्त्रता
विद्यालयहरूले शिक्षा शुल्क, प्रवेश शुल्क, पाठ्यक्रम शुल्क, मासिक ट्युसन लगायत शुल्कहरू सम्बन्धित नियम अन्तर्गत पारदर्शी तरिकाले आफैं निर्धारण गर्न पाउनु पर्ने माग गरिएको छ।
