
धादिङ । धादिङको थाक्रे गाउँपालिकास्थित अमर्खु माध्यमिक विद्यालयबाट आफ्नो पढाइ सुरु गरेका विजय तामाङले दुई दिनको बीचमा दुई सफलता सफलता हात पारेका छन् ।
बागमती प्रदेश लोकसेवा आयोगले लिएको शिक्षा अधिकृत (सातौँ तह) पदमा नाम निकालेर गंगाजमुनाको शिक्षा अधिकृतको नियुक्तिपत्र लिन प्रदेश पुगेका उनी धादिङ फर्कँदै गर्दा बाटोमै अर्को सफलता- संघीय लोकसेवा आयोगले लिएको राजपत्रांकित तृतीय श्रेणी विद्यालय निरीक्षक पदमा समेत उनको नाम निस्किएको खबर पाए ।
यी दुई सफलता उनले एक सातामै पाएका हुन् । “अब कुन रोज्ने त?” भन्ने प्रश्नमा विजयले भने, “म गंगाजमुनाको शिक्षा अधिकृतका लागि प्रदेशबाट पत्र बुझेको थिएँ । बाटोमै विद्यालय निरीक्षकमा पनि नाम निस्किएको थाहा पाएँ । शिक्षा अधिकृत हुने कि विद्यालय निरीक्षक, अहिले परामर्शमा छु ।”
विजयले आफ्नो पेशागत जीवनको सुरुवात एडभान्स एकेडेमीमा अध्यापनबाट गरेका थिए । एडभान्सबाट उनी गत वर्ष मात्र प्राथमिक विद्यालयको स्थायी दरबन्दीमा नियुक्त भई नीलकण्ठको शंखादेवी माध्यमिक विद्यालयमा कार्यरत भएका हुन् । मावि स्थायी शिक्षकको लागि पनि उनले परिक्षा दिएका थिए अन्तरवार्तामा नाम निस्किएको छ, भदौमा हुने अन्तवार्तामा भने अब उनी सहभागी नहुने भएका छन् ।


