
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष देवराज धरेलले नेपाल विधुत प्राधिकरण, वितरण केन्द्र, सल्यानटारलाई अघोषित लोडसेडिङ विरुद्ध ध्यानाकर्षण पत्र बुझाएका छन् ।
ध्यानाकर्षण पत्रमा भनिएको छ–
नेपाल बिद्युत प्राधिकरणको राष्ट्रिय प्रशारणको नेशनल ग्रिड लाईन विगत एक दशक भन्दा पहिले देखि नै यस गाउँपालिकाको सवै वडाहरुमा जडान भैईसकेको व्यहोरा यहाँलाई अवगत नै छ । साथै यस गाउँपालिकाको वडा नं ४ मा रहेको आँखु खोला जलविद्युत आयोजनाले समेत विधुत उत्पादन गर्दै आइरहेको छ । उत्पादित आयोजनाको प्रभावित क्षेत्रमा विद्युत वितरण चौविसै घण्टा हुने सर्वमान्य सिद्दान्तको मर्म विपरित विगतको केहि समय देखि यस गाउँपालिकामा विधुत नियमित हुन नसक्दा र कम भोल्टेज र कम करेन्ट प्रवाह हुँदा धेरै नागरिकहरुको विद्युतीय उपकरणहरुमा ठूलो क्षति भईरहेको छ। गर्मीको समयमा नागरिकहरुलाई साँझ विहान बिधुतको प्रयोग र आवश्यकता बढी हुने समयमा विधुत नियमित नहुँदा ठुलो कठिनाई भोग्नु परेको छ । तसर्थ प्राविधिक कारणले विधुत नियमित हुन कठिनाई भएको भए सोको यथाशिघ्र प्रबन्ध गरी र अन्तर कार्यालय समन्वय गर्दै विधुत आपूर्ति नियमित र भरपर्दो व्यवस्था गर्नुहुन गाउँपालिकाको तर्फबाट गम्भीर ध्यानआकर्षण गर्दछु ।

