बागमती प्रदेशद्वारा स्थानीय तहलाई अनुदान निकासा

Avatar photo
Dhadingpost
अशोज ११, २०८१

हेटौडा । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्ष २०८१–८२ मा प्रदेशमा रहेका स्थानीय तहलाई प्रदान गर्ने अनुदान निकासा गरेको छ ।

विशेष अनुदान ११९ तहमध्ये १०६ स्थानीय तहका लागि स्वीकृत योजना कार्यान्वयनका लागि पहिलो किस्ताबापत निकासा भएको छ । प्रदेश सरकारले बेहोर्ने ७२ करोड १८ लाखको २५ प्रतिशत १८ करोड चार लाख ५० हजार रुपियाँ १०६ वटा पालिकामा विशेष अनुदान निकासा गरिएको हो ।

विशेष अनुदान नपाउनेमा स्थानीय तहमा जिरी नगरपालिका, कालिञ्चोक गाउँपालिका, बिगु गाउँपालिका, नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका, रोसी गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, सुनकोशी गाउँपालिका, कालिका गाउँपालिका, आमाछोदिङ्मो गाउँपालिका, राप्ती नगरपालिका, काठमाडौँ महानगरपालिका र ललितपुर नगरपालिका रहेका छन् ।

यस्तै, समपूरक अनुदान ११९ पालिकामध्ये ११३ पालिका स्वीकृत योजना कार्यान्वयनका लागि पहिलो किस्ताबापत प्रदेश सरकारले बेहोर्ने दुई अर्ब ४८ करोड आठ लाख ५० हजारको ६२ करोड दुई लाख १२ हजार पाँच सय रुपैयाँ निकासा भएको छ ।

समपूरक अनुदान नपाउने पालिकामा कालिञ्चोक गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, राप्ती नगरपालिका र काठमाडौँ महानगरपालिका रहेका छन् ।