नेपालमा कोरोनाको नयाँ सबभेरियन्ट जेएन-१ बाट ७ जना संक्रमित

Avatar photo
Dhadingpost
पुस २४, २०८०

काठमाडौं । कोभिड–१९, ओमिक्रोन भेरियन्टको परिवर्तित स्वरूप नयाँ सब भेरियन्ट जेएन।१ नेपालमा पनि पुष्टि भएको छ । कोभिड पुष्टि भएका १६ जनाको जिनोम सिक्वेन्सिङ गर्दा ७ जनामा नयाँ भेरियन्टको संक्रमण पाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, मुलुकका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूको संकलित १६ वटा नमुनाको पीसीआर र एन्टिजेन पोजेटिभको जाँच गरिएको हो । जिनोम सिक्वेन्सिङ प्रविधिबाट गरिएको परीक्षणमा ७ वटा नमुनामा जेएन-१ पुष्टि भएको डा. बुढाथोकीले जानकारी दिए ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जेएन.१ भाइरसलाई तत्कालका लागि कम घातक श्रेणीमा राखेको छ । यो भाइरस भारत, अमेरिका, बेलायतलगायतका मुलुकमा फैलिसकेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले जेनएन.१ कम घातक देखिएको भए पनि तीव्र गतिमा फैलिन सक्ने बताए। तीव्र गतिमा फैलने भएकाले डब्लूएचओले यस भाइरसलाई भेरियन्ट अफ इन्ट्रेस्ट (चासोमा राखिएको भेरियन्ट) मा सूचीकृत गरेको छ ।

चिकित्सकहरूका अनुसार,जेएन- १ संक्रमितमा ज्वरो÷काम ज्वरो आउने थकान महसुस हुने, नाकबाट पानी (पातलो सिंगान) बग्ने, खोकी लाग्ने, घाँटी तथा टाउको दुख्ने र सास फेर्न अप्ठ्यारो हुनेलगायतका लक्षणहरू देखिन सक्छन् ।