तराईका जन्तु पहाड उक्लनु खतराको घण्टी

Avatar photo
Dhadingpost
फाल्गुन ९, २०७९

काठमाडौं । जलवायु परिवर्तनका कारण पशुपन्छी तथा कीराफट्याङ्ग्रा एउटा तापक्रम भएको स्थानबाट अर्काे तापक्रम भएको स्थानमा बसाइँ सर्ने गरेको पाइएको छ । कतिपय कीराफट्याङ्ग्रा यात्रु ओहोरदोहोर गर्दा सुटकेसबाट अर्को ठाउँ जाने गरेका छन् तर मानिसका कारण वा आफैँ पनि पशुपन्छी स्थानान्तरण हुने गरेका छन् । सुरक्षाका लागि वा जलवायु परिवर्तनका कारण पशुपन्छीले बसाइँ सर्ने गरेका छन्

अमेरिकाका बडेमानका साङ्ला यात्रुका सुटकेसबाट नेपाल भित्रिएका हुन् । जीवशास्त्री डा. मुकेश चालिसेले नेपालमा पाइएका ठूला साङ्ला यात्रुका ‘लगेज’का माध्यमबाट अमेरिकाबाट नेपाल भित्रिएको दाबी गर्दै भन्नुभयो, “एकसिङ्गे दुर्लभ गैँडाजस्तै मध्यपहाडमा पाइने पहँरे बाँदर तराईमा देखिन थालेको छ । यसबारे सम्बन्धित निकायले थप अध्ययन अनुसन्धान गर्नु आवश्यक छ ।” वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठले मध्यपहाडी क्षेत्रमा पाइने जनावर तराईमा र तराईमा पाइने जनावर हिमाली क्षेत्रमा उक्लिनुका पछाडि जङ्गली कोरिडोरको विकास प्रमुख कारण रहेको बताउनुभयो ।

“ठूला जीवजन्तु बाह्रै महिना एक ठाउँबाट अर्काेमा स्थानान्तरण हुने भए पनि साना जीवजन्तुचाहिँ मौसम अनुकूल स्थायी बसाइँ सर्ने गरेका छन्,” उहाँले भन्नुभयो, “उपत्यकाका थानकोट, साँगा भन्ज्याङ, फर्पिङ र नागार्जुन उष्ण क्षेत्र हुन् । शीतोष्ण तराईमा पाउने सिमल उपत्यका आसपास पाउन थालिनु मौसममा आएको परिवर्तन नै प्रमुख कारक हो ।” जीवशास्त्री डा. चालिसेले उपत्यकाका मुख्य सहरी चोकमा कहिलेकाहीँ चितुवा देखिनुले जङ्गलमा खानाको अभाव रहेको पुष्टि गर्ने गरेको बताउनुभयो । अवैज्ञानिक रूपमा डाँडा हरियो बनाउन रोपिएका सल्लाले निरन्तर जङ्गल र जनावरलाई मानवसँग द्वन्द्व बढाएको उहाँको गुनासो छ । उहाँले सल्लाको जङ्गलमा मृग, खरायो र चितुवा बस्न नसक्ने भएकाले वन्यजन्तु मानव बस्तीमा छिर्न थालेको बताउनुभयो ।

डिभिजन वन कार्यालय काठमाडौँका डिभिजनल वन अधिकृत बद्री कार्कीले तराईमा पाउने जनावर पहाड र हिमालसम्म चढ्न थाल्नु भनेको जलवायु परिवर्तन तथा उनीहरू बासस्थानको खोजीमा लागेका कारणले हुनसक्ने बताउनुभयो । “अब स्थानीय सरकार तथा समुदायले समेत यसबारे सोच्न आवश्यक भइसकेको छ,” उहाँले भन्नुभयो । तराईमा पाइने विभिन्न किसिमका जनावर हिमालमा समेत देखिन थालेपछि त्यसको व्यवस्थापनबारे सोच्न आवश्यक भइसकेको उहाँको तर्क छ ।

मध्यपहाडी जिल्लाको महाभारत क्षेत्रको जङ्गलमा तराईका जिल्लामा पाइने जङ्गली जनावर बढ्दो रूपमा देखा पर्न थालेको छ । केही वर्ष पहिलेसम्म तराईका जङ्गलमा मात्र पाइने बँदेल, दुम्सी, घोरल र हरिणजस्ता जनावर बसाइँ सर्दै आएको विज्ञको भनाइ छ । “१० वर्ष पहिलेसम्म लेकमा बँदेल जाँदैनथ्यो, तराईमा मात्र पाइन्थ्यो,” महाभारत लेकको बेथानचोकका स्थानीय पद्म तिमल्सिनाले बताउनुभयो ।

काठमाडौँका डिभिजनल वन अधिकृत कार्कीले जलवायु परिवर्तनसँगै महाभारत जङ्गलमा समेत गर्मी बढ्दै गएको र त्योसँगै जनावर पनि तराईबाट क्रमशः सर्दै आएका हुन् भन्नुभयो । जनावर मात्र नभई तराईमा पाइने रुख बिरुवासमेत सर्दै आएको उहाँको भनाइ छ । “पहाडी भेगमा पाइने जनावर भनेको चितुवा र भालु हो,” उहाँले थप्नुभयो, “बाघ त पहाडी भेगमा सरेको छैन । घाँस खाने जनावर सर्दै आएका छन् ।”

महाभारत गाउँपालिका काभ्रेका अध्यक्ष कान्छालाल जिम्बाले जङ्गल छेउका बस्तीका किसानलाई बँदेल र दुम्सीले दुःख दिएको बताउनुभयो । उहाँका अनुसार पाँच/सात वर्ष पहिलेसम्म गाउँमा बँदेल देख्न निकै मुस्किल पर्दथ्यो । “तीन÷चार वर्षदेखि बालीनाली नष्ट गरेर बँदेलले निकै दुःख दिने गरेको छ,” उहाँले भन्नुभयो, “बँदेलकै दुःखले लेक (जङ्गल) छेउका किसान ठाउँ नै छाडेर हिँडिसके । मान्छेले बँदेल लेखेट्ने होइन, उल्टै बँदेलले मान्छे लखेटेको अवस्था छ ।”

सामुदायिक वन उपभोक्ता महासङ्घ बागमती प्रदेशका अध्यक्ष विनोद सापकोटाले सामुदायिक वनमा पाइने वनस्पतीमा समेत परिवर्तन हुन थालेको बताउनुभयो । “हामीले जलवायु परिवर्तनको असरका रूपमा यसलाई लिएका छौँ,” उहाँले भन्नुभयो, “यसले हाम्रो सामुदायिक वनमा समेत नौला प्राणी देखिन थालेकाले यस्ता जनावरको फाइदा र बेफाइदाबारे अनुसन्धानको बाटो बनाउन हामीले सरकारको ध्यानाकर्षणसमेत गरेका छौँ ।” उहाँले तराईमा पाइने जनावर पहाडमा देखिन थाल्नु खतराको घण्टी भएकाले त्यसको पूर्वतयारीमा जुट्नु आवश्यक रहेको बताउनुभयो । गोरखापत्रबाट