धादिङका डीपी अर्याल बने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबाहक सभापति

Avatar photo
Dhadingpost
माघ १४, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यबाहक सभापति र संसदीय दलको नेतामा डोलप्रसाद अर्याललाई चयन गरेको छ। हाल पार्टीमा उपसभापति रहेका अर्याललाई कार्यवहाल सभापतिको जिम्मा दिने निर्णय भएको प्रवक्ता डा. मुकुल ढकालले बताए । अर्याल रास्वपाबाट समानुपातिक सांसद छन् । उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत छन् ।

शुक्रबार बसेको केन्द्रीय समितिको बैठकपश्चात महामन्त्री तथा प्रवक्ता डा। मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतबाट भएको फैसला कार्यान्वयन हुँदा पार्टी सभापति पद रिक्त भएको ठहर गर्दै उक्त रिक्त सभापति पदमा केन्द्रीय समितिको बैठकबाट पार्टीको विधान बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई पार्टीको कार्यवाहक सभापति चयन गरेको छ। ’

ढकालका अनुसार शुक्रबार नै बसेको पार्टीको संसदीय दलको बैठकले संसदीय दलको नेताको पद रिक्त भएकोले रिक्त रहेको पार्टी संसदीय दलको नेतामा पार्टीका कार्यवाहक सभापति अर्याललाई चयन गरेको हो। लामिछानेको पद खारेज भएपछि प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १९ सांसद रहेका छन्। उनीहरुमध्ये मन्त्रिपरिषद्‍मा शिक्षा मन्त्रीमा शिशिर खनाल, श्रम मन्त्रीमा अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्की छन्।

रास्वपाले चुनौतिपूर्ण घडीमा पार्टीका सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरु संयमित रही विधिको र कानुनको सम्मान गर्न सबैमा अनुरोध गरेको छ।