गोरखामा प्रचण्डको प्रतिवद्धता, प्राथमिकतामा बुढीगण्डकी आयोजना

Avatar photo
Dhadingpost
कार्तिक ८, २०७९

गोरखा । माओवादी केन्द्रका अध्यक्ष एवम् गोरखा क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेद्वार पुष्प कमल दाहाल प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र लक्ष्यित प्रतिवद्धता सार्वजनिक गरेका छन् । उनको प्रतिवद्धतामाको प्राथमिकतामा बुढीगण्डकी आयोजना समेत परेको छ ।

प्रतिबद्धता पत्रमा बहुउद्देश्यीय राष्ट्रिय गौरवको १२ सय मेगावटको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल अघि बढाउने र बेनीघाट–लार्के सडकखण्ड निर्माण कार्य पूरा गर्ने उल्लेख गरिएको छ । लामो समयदेखि बन्द रहेको गोरखाको रबर उद्योग र पालुङटार एयरपोर्टलाई पुनःसञ्चालनमा ल्याउन विशेष पहल गर्ने उल्लेख छ ।

प्रचण्डद्वारा जारी प्रतिवद्धता पत्र मार्फत गोरखाको समृद्धिको मार्गचित्रअन्तर्गत गेमचेन्जर योजनाहरु, राष्ट्रिय गौरवका आयोजना रुपमा लिएको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणदेखि, गोरखकाली रबर उद्योग र पालुङटार एयरपोर्ट पुनसञ्चालन गर्ने र उत्तरी गोरखालाई विशेष क्षेत्र बनाउन पहल गर्ने जनाएका छन् ।

गोरखाको सिर्दिबास, माछीखोला, बारपाक, भच्चेक क्षेत्रमा हिमाली क्षेत्रमा पाइने जडीबुटी संरक्षण, संकलन र प्रशोधन केन्द्र स्थापना गर्ने पनि प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । उत्तरी गोरखाको दुर्गम पालिका चुमनुब्री र धार्चेलाई स्वायत्त क्षेत्र घोषणा गर्न पहल गर्ने बिषय प्रतिवद्धता पत्रमा समेटिएका छन् ।

उत्तरी गोरखालाई हिमालय पर्यटनको रुपमा विकास गर्न चीनसँग सीमा जोडिएको रुइला नाका नियमित रुपमा सुचारु गर्न सुनिश्चितता सहित नुव्री क्षेत्रमा अन्तरदेशीय बन्दरगाह स्थापना गरिने, चुम र नुव्री भ्यालीलाई हिमाली शहरको रुपमा विकास गर्न विशेष पहल गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

मध्यपहाडी लोकमार्गको गोरखा खण्ड र सबै पालिकाको केन्द्र हुँदै वडा कार्यालयसम्म पुग्ने सडकहरु कालोपत्रे गर्न जोड दिने, आँबुखैरेनी–गोरखा सदरमुकाम सडकको मापदण्ड सम्बन्धी समस्यालाई प्राविधिक र वैज्ञानिक ढंगले हल गर्ने, गाईखुर–च्याङ्ली क्षेत्रमा राज्यले घोषणा गरेको औद्योगिक क्षेत्र निर्माण कार्य अगाडि बढाउने, सिउरेनीटारदेखि पालुङटारसम्म पृथ्वी राजमार्गको वैकल्पिक राजमार्ग निर्माण गर्न पहल गर्ने र लिगलिगकोट–सिरानचोक–गोरखा दरबार–मनकामना आदिलाई समेटेर धार्मिक ऐतिहासिक तथा पर्यटकीय सर्किटको रुपमा विकास गर्ने लगायतका योजना उनको प्रतिबद्धता पत्रमा समेटिएका छन् ।