
धादिङ । धादिङको रुवी भ्याली गाउँपालिकामा निर्माणाधीन गोरक्ष हाइड्रो पावर लिमिटेडका कारण आफूहरूले वर्षौंदेखि प्रयोग गर्दै आएको बाटो र पुल जोखिममा परेको भन्दै रुवी भ्याली गाउँपालिका–५ लापाका स्थानीय आन्दोलनमा उत्रिएका छन् ।
हाइड्रोपावर आयोजनाले करिब ३ किलोमिटर लामो सुरुङ निर्माणका क्रममा गरेको ब्लास्टिङ तथा अन्य निर्माण गतिविधिका कारण पुरानो बाटो क्षतिग्रस्त भई आवतजावतमा समस्या भएको र परिस्तार खोलामाथिको झोलुङ्गे पुलसमेत प्रयोग गर्न कठिन भएको स्थानीयको भनाइ छ ।
स्थानीयका अनुसार आयोजनाको निर्माणका क्रममा भइरहेको ब्लास्टिङ, हेभी इक्विपमेन्टको प्रयोग तथा पहिरोका कारण वडा नं. ५ का कपुरगाउँ, लापा ठूलोगाउँ, बाम्राङ, ताम्राङ तथा वडा नं. ६ का तिरगाउँ, रिचेतगाउँ, लाप्चेत, कुप्चेत र खादिङगाउँका बासिन्दाको दैनिक आवतजावत असुरक्षित र कष्टकर बनेको छ ।
बेलिब्रिज र सुरक्षित बाटोको माग
स्थानीयवासीको साउन २७ गते बसेको आम भेलाले लापा खोला र परिस्तार खोलाको दोभानमा दुवै खोला पार गर्न मिल्ने गरी बेलिब्रिज निर्माण गर्नुपर्ने माग अघि सारेको छ।
त्यस्तै, हाल प्रयोग हुँदै आएको पुरानो बाटो क्षतिग्रस्त भएकाले त्यसको विकल्पमा सुरक्षित नयाँ बाटो निर्माण गरिदिनुपर्ने स्थानीयको माग छ ।
गाउँपालिका अध्यक्षको ध्यानाकर्षण पत्रप्रति स्थानीय असन्तुष्ट
स्थानीयले आफ्ना माग सम्बोधन गर्न एक साताको समयसीमा दिँदै आन्दोलन गरिरहेका बेला रुवी भ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङले साउन २६ गते जारी गरेको ध्यानाकर्षण पत्रप्रति स्थानीय असन्तुष्ट बनेका छन् ।
अध्यक्षद्वारा जारी पत्रमा जलविद्युत् आयोजनाविरुद्ध भइरहेको विरोध तथा आन्दोलनलाई ‘अनर्गल मिडिया बाजी’, ‘भ्रामक सूचना सम्प्रेषण’, ‘विकास विरोधी’ लगायतका शब्द प्रयोग गरी टिप्पणी गरिएको स्थानीयको भनाइ छ ।
पत्रमा जलविद्युत् आयोजनाका प्रवर्द्धकहरूले कानुनसम्मत ढंगबाट काम गरिरहेको उल्लेख गर्दै आयोजनाविरुद्ध फैलाइएका भ्रममा नपर्नसमेत आग्रह गरिएको छ ।
यही विषयलाई लिएर स्थानीयले गाउँपालिका अध्यक्षले आफ्नो समस्यालाई प्राथमिकतामा नराखेको आरोप लगाएका छन् ।
स्थानीयको भनाइमा, आयोजनाका कारण बाटो र पुलमा समस्या उत्पन्न भएपछि आफूहरूले सुरक्षित आवतजावतको माग गरिरहँदा गाउँपालिकाबाट समस्या समाधानका लागि ठोस पहल गर्नुको सट्टा आन्दोलनलाई नै विकासविरोधी रूपमा चित्रण गरिएको छ ।
‘कम्पनीको पक्षपोषण भयो’ भन्ने स्थानीयको आरोप
आन्दोलनरत लापावासीले गाउँपालिका अध्यक्षले स्थानीयको समस्या समाधान गर्नुभन्दा जलविद्युत् आयोजनाको बचाउ गरेको आरोप लगाएका छन् ।
स्थानीयले गाउँपालिकाको ध्यानाकर्षण पत्रमा आयोजनाका कारण स्थानीय बाटो र पुलमा परेको क्षतिबारे पर्याप्त चासो नदेखाइएको भन्दै प्रश्नसमेत उठाएका छन् ।
उनीहरूको आरोपमा, स्थानीयको सुरक्षाभन्दा आयोजनाको निर्माण र लगानीलाई प्राथमिकता दिइएको देखिएको छ । यही कारण गाउँपालिका अध्यक्षको भूमिकाप्रति आफूहरूले ‘द्वैध चरित्र’ देखिएको महसुस गरेको स्थानीयको भनाइ छ ।
माग पूरा नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी
स्थानीयवासीले आफूहरूको माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन् । सुरक्षित वैकल्पिक सडक र बेलिब्रिज निर्माणको व्यवस्था नभए आन्दोलनलाई थप सशक्त र चरणबद्ध रूपमा अगाडि बढाउने चेतावनी उनीहरूले दिएका छन् ।
स्थानीयको मुख्य माग गोरक्ष हाइड्रोपावरको निर्माण रोक्नु नभई आयोजनाका कारण प्रभावित भएको आवतजावतको वैकल्पिक र सुरक्षित व्यवस्था गर्नु रहेको उनीहरूको भनाइ छ ।
