टानमा माओवादी र एमाले मिल्यो, कमल सापकोटाको प्यानललाई जिताउने सहमति

Avatar photo
Dhadingpost
साउन २२, २०७९

धादिङ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल अर्थात् टानको आशन्न निर्वाचनमा कमल सापकोटाको प्यानललाई जिताउन माओवादी केन्द्र र एमाले निकट पर्यटन व्यवसायीहरुको संगठनले सहमति जनाएका छन् । कमल सापकोटाको प्यानल बनाएर टान निर्वाचनमा जाने गरी दुई संगठनले आज संयुक्त बैठक बसेर सहमति जनाएका हुन् ।

‘बेटर टान’को अवधारणा लिएर टानको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका सापकोटालाई यी दुई संगठनको सहमतिले झनै सजिलो बनाई दिएको छ भने मिलेर जान इच्छुक अन्य संघ संगठनहरु सँग पनि छलफल भईरहेको र त्यसका लागि वार्ता र उम्मेदवार तय गर्न कार्यदल समेत बनाएको छ । टानको निर्वाचन साउन ३० गते हुनेछ ।

पदयात्रा पर्यटनमा लागेका दुई दशक दौरानमा भोगेका भोगाई, कठिनाइ ,अवसर तथा पर्यटन क्षेत्रका तमाम नीतिगत समस्या, पदयात्रा गर्दा आइलाग्ने विपत्ति, विश्व पर्यटन र हाम्रो अवस्था, टानको विगत र वर्तमान अवस्था सँग अत्यन्त सुस्म ढङ्गले जानकार हुनाले यी मुद्दाहरूलाई आफ्नो मुख्य एजेन्डा बनाएर काम गर्ने सापकोटाको भनाई छ ।

कमाल सापकोटाको काठमाडौंको ठमेलमा ‘माउन्टेन डिलाइट्स ट्राभल्स एन्ड टुर्स प्रालि’ र होटेल ‘काठमाडौं गार्डेन होम’ नामक कम्पनीहरु सञ्चालनमा छन् । सामाजिक कार्यमा पनि उतिकै सक्रिय रहेका सापकोटाले विभिन्न अवार्ड एवम् सम्मान पनि प्राप्त गरिसकेका छन् । दिगो पर्यटनमा दिएको योगदानको आधारमा दिइने ‘सस्टेनएबल टुरिजम इन्स्पाइर स्टोरी कम्पीटीसन’ को टाइटल प्राप्त गरेका छन् । दिगो पर्यटनमा योगदान दिने एसियाभरिका व्यक्तिहरू यस टाइटलको लागि प्रतिस्पर्धा गर्दछन् । त्यसैगरी सन् २०१७ मा ‘टुरिजम म्यान अफ दि इयर २०१७’ र २०१९ मा बङ्गलादेशबाट ‘यूथ इन्स्पाइरेसन अवार्ड’ पनि प्राप्त गरेका छन् ।