
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति टुंगो लगाएको हो । बुधबार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर ४ गते निर्वाचन गर्ने सहमति गरेको थियो। सोही अनुसार मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको बैठकमा सहभागी भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्री शशी श्रेष्ठले जानकारी दिए ।
यस अघि २०७४ सालमा प्रतिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर १० गते र मंसिर २१ गते गरी दुई चरणमा सम्पन्न भएको थियो । निर्वाचन आयोगले सरकारले घोषणा गरेको ४ मंसिरको मितिमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्न तयार रहेको बताएको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेपछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तोकिएको समयमा स्वच्छ,निष्पक्ष, विश्वसनीय ढंगले निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेको बताए ।

उनले शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित गरेर चुनावको तयारीमा लाग्ने बताए । ‘हामीले मतदाता नामावलीको दर्ता प्रक्रिया भोलिदेखि नै स्थगन गरेर दर्ता भइसकेका मतदाताहरुको नामावली ६ हजार ७ सय ५३ वटा वडा कार्यालयहरुमा सार्वजनिक गरेर अद्यावधिक गर्ने प्रक्रिया सुरु हुन्छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने,‘स्थानीय तह निर्वाचनमा भएका कमी कमजोरी पनि हामीले यसपालि सच्याएर जान्छौं ।’

