एसईईको नतिजा सार्वजनिक, जीपीए ३.६ देखि ४ ल्याउने विद्यार्थी १.९४ प्रतिशत

Avatar photo
Dhadingpost
साउन ११, २०७९

काठमाडौं । शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेक नतिजाअनुसार ९ हजार ६३३ जनाले उच्च (३.६ देखि ४) जीपीए ल्याएका छन्।

वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ हजार ७ सय ६० जना परीक्षार्थी सहभागी थिए। नतिजामा परीक्षाफललाई विभिन्न ९ वटा वर्गमा विभाजन गरिएको बोर्डले जानकारी दिएको छ।

बोर्डका अनुसार नतिजालाई ‘ग्रेड प्वाइन्ट’को आधारमा ३.६ देखि ४ जीपीए, ३.२ देखि ३.६ जीपीए, २.८ देखि ३.२ जीपीए, २.४ देखि २.८ जीपीए, २.० देखि २.४ जीपीए, १.६ देखि २.० जीपीए, १.२ देखि १.६ जीपीए र ०.८ देखि १.२ जीपीए ल्याउने विद्यार्थीमा विभाजन गरिएको छ। त्यस्तै, थप एउटा वर्गमा आंशिक अनुपस्थिति वा पुरै अनुपस्थित वर्गमा राखिएको छ।

परीक्षा बोर्डका अनुसार, ०.८ देखि १.२ जीपीए ल्याउने ३२८० (०.६६ प्रतिशत), १.२ देखि १.६ जीपीए ल्याउने ४४५८६ (८.९९ प्रतिशत), १.६ देखि २.० जीपीए ल्याउने १००५९४ (२०.२९ प्रतिशत), २.० देखि २.४ जीपीए ल्याउने ११२७३३ (२२.७४ प्रतिशत), २.४ देखि २.८ जीपीए ल्याउने ९०५५८ (१८.३१ प्रतिशत), २.८ देखि ३.२ जीपीए ल्याउने ६९९०० (१४.१० प्रतिशत), ३.२ देखि ३.६ जीपीए ल्याउने ४१६२७ (८.४० प्रतिशत) र ३.६ देखि ४ जीपीए ल्याउने ९६३३ (१.९४ प्रतिशत) छन्।

परीक्षामा २२ हजार ६४० जना अनुपस्थित थिए। जुन कुल परीक्षार्थीको ४.५७ प्रतिशत हो। एसईई २०७८ को परीक्षा कार्यक्रम गत वैशाख ९ देखि वैशाख २० सम्पन्न भएको थियो। ५ लाख १४ हजार परीक्षार्थी भए पनि परीक्षामा सहभागी विद्यार्थीको संख्या ४ लाख ९५ हजार ७५१ मात्रै थियो।

एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ। नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ।