पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधेर मन्दिर पुर्‍याईयो

Avatar photo
Dhadingpost
साउन २, २०७९

नवलपरासी । लामो समयदेखि परेको खडेरीले आक्रान्त बनेपछि पानी पर्ने विश्वासमा सहमतिमै जनप्रतिनीहरुलाई बाँधेर मन्दिर लगिएको छ । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले पानी पर्ने विश्वासका साथ जनप्रतिनीहरुलाई बाँधेर मन्दिर पुर्याएका हुन् ।

लामो समयको खडेरीले आक्रान्त बनेका किसानहरुले गाउँका अगुवालाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने विश्वास गरेकोले आफूहरु बाँधिmएर मन्दिर गएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए ।

गाउँपालिका अध्यक्ष चौधरीले आफूसहित पूर्व सांसद रामलखन हरिजन, गाउँपालिका उपाध्यक्ष बासमती चमार, वडा नम्बर ४ का अध्यक्ष सुरेश यादव, प्रमुख प्रसासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई गाउँलेले बाँधेर मन्दिर पुर्‍याएको जानकारी दिए ।

२१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको पश्चिम नवलपरासीमा रोपाई सकेको लामो समय बितिसक्दा पनि पानी नपर्दा किसानले रोपेको धान सुक्न थालेको छ । मल नपाएका किसान यति बेला थप पीडामा छन् ।

असारको पहिलो साताबाटै रोपाई सुरू गरेका किसान आकासे पानीको भर पर्दा र वैकल्पिक सिचाईँको व्यवस्था नहुँदा रोपो सुक्न थालेको छ। यस वर्ष धान उत्पादनमा कमि आउने र लगानी पनि नउठ्नेहो भन्ने कुराले किसान चिन्तित छन् । तस्बिरः भगवती पाण्डे/सेतोपाटी