
हेटौंडा । सत्ता गठबन्धनबाट साझा उम्मेदवारी दिएका माओवादी केन्द्रका ललित कुमार घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएका छन् । जिसस प्रमुख पदमा घलान १७ मतले विजयी हुदाँ उनको प्रतिपस्र्धी एमालेका बुद्धिराम डिम्डुङले ३ मत मात्रै पाए ।
यसैगरी, जिससको सदस्यतर्फ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । महिला सदस्यमा तारा ढुंगाना, विष्णुमाया थपलिया र सुमित्रा थिङ १७ मतसहित निर्वाचित भएका छन् । उनीहरु नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए । एमालेबाट उम्मेदवार बनेका बिना कुमारी थिङ लामाले ३ मत प्राप्त गरेकी छिन् ।
यस्तै, सदस्य तर्फमा खड्गबहादुर पुलामी, सुवर्ण गोपाली र बिरेन्द्र कुमार लामा निर्वाचित भएका छन् । पुलामी र गोपालीले १७ मत प्राप्त गरेका छन् । उनीहरु माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । नेकपा एकीकृत समाजवादी उम्मेदवार बनेका लामाले १६ मत प्राप्त गरेका थिए । एमालेका उम्मेदवार तोयानाथ तिमल्सिनाले ३ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा कांग्रेसका सानुकाजी लुईटेल र दलित तथा अल्पसंख्यक सदस्यमा एकीकृत समाजवादीकी सुनिता परियार भने निर्बिरोध निर्वाचित भएका छन् ।
