रसुवाको जिसस प्रमुखमा गोलाप्रथाबाट एमाले विजयी

Avatar photo
Dhadingpost
जेष्ठ २९, २०७९

रसुवा । जिल्ला समन्वय समिति रसुवाको निर्वाचनबाट प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी भएको छ । नौ सदस्य पदको लागि शनिबार भएको निर्वाचनमा मत बराबर भएपछि गोलाप्रथा गरिएको थियो ।

गोला तान्दा प्रमुखमा एमालेका अशोककुमार घिमिरे, उपप्रमुखमा विजय लामा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए । त्यस्तै समितिको अन्य सदस्यहरुमा एमालेका कामी छिरिङ तामाङ, खुवाप्रसाद पौडेल र कांग्रेसका खिलबहादुर न्यौपाने निर्वाचित भएको मुख्य निर्वाचित भएका छन् ।

महिला सदस्यमा एमालेको देशी रानी तामाङ, कांग्रेसको कारतोक लामा र सबिता गुरुङ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । दलित तथा अल्पसंख्यक सदस्यमा कांग्रेसकी पार्वती विश्वकर्मा निर्वाचित भएकी छन् । पाँच वटा गाउँपालिका रहेको रसुवा जिल्लामा पालिकाको अध्यक्ष तथा उपाध्यक्षमा एमाले र कांग्रेसले ५र५ सिट जितेका थिए ।