
काठमाडौं । देशको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त त्रिवि क्रिकेट रंगशालालाई यसै आर्थिक वर्षमा फ्लड लाइट जडान गरिराति पनि क्रिकेट खेल्न सकिने बनाईने अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेका छन् ।
आइतबार संसदमा पेश गरेको वजेटमा किर्तिपुर मैदानमा फ्लड लाइट निर्माणका लागि रकम विनियोजन गरि राति पनि खेल्न सक्ने बनाईन लागेको उल्लेख छ ।
सरकारले आर्थिक वर्ष २०७९/८० का युवा तथा खेलकुदतर्फ २ अर्ब ४६ करोड वजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आगामी आर्थिक वर्षका बजेटमा युवा तथा खेलकुद मन्त्रालय शीर्षकमा अघिल्लो आर्थिक वर्षको तुलना २८ करोड कम विनियोजन गरिएको छ ।
सरकारले चालू आर्थिक वर्षका लागि २ अर्ब ७४ करोड रुपैयाँको वजेट विनियोजन गरेको थियो । बहुप्रतिक्षीत मूलपानी मैदान निर्माण यसै आर्थिक वर्षमा सम्पन्न गर्नेसहित सरकारले पूर्वाधारतर्फ ८७ करोड रुपैयाँ विनियोजन गरेको छ । राष्ट्रिय खेलकुद परिषदका लागि २ अर्ब ९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
बजेट भाषणमा अर्थमन्त्री जनार्दन शर्माले बहुप्रतिक्षीत मूलपानी क्रिकेट रंगशाला निर्माणको काम यसै वर्षभित्र सम्पन्न आवश्यक वजेट विनियोजन गरेको जानकारी दिएका छन् । २०६० सालमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी शिलान्यास गरिएको मूलपानी (तल्लो) क्रिकेट रंगशाला अहिलेसम्म निर्माणाधीन छ ।
यस परियोजनका लागि २०६९ देखि हरेक आर्थिक वर्षमा वजेट विनियोजन हुँदै आएको छ । १२ हजार दर्शक क्षमताको यो रंगशालाको पूर्वतर्फ मुआब्जा समस्याको समाधार दुई वर्षअघि मात्र गरिएको थियो । अहिलेसम्म यो परियोजनका लागि सरकारले ३२ करोड रुपैयाँ खर्च गरिसकेको छ ।
