
धादिङ । जिल्ला फुटबल संघ धादिङका अध्यक्ष दिपक खतिवडाले अखिल नेपाल फुटबल संघ (एन्फा) काे असार ६ गते हुने निर्वाचनका लागि केन्द्रीय उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । एन्फाको निर्वाचन समितिले जेठ ६ देखि १२ गते सम्मका लागि मनोनयन दर्ताको समय तोकेको अनुसार उनले आज उम्मेदवारी दर्ता गराएका हुन् ।
एन्फाको साधारण सभाले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य निर्वाचित गर्नेछ । बुधबार सम्म वरिष्ठ उपाध्यक्षमा २, उपाध्यक्षमा ४, महिला सदस्यमा ५ र सदस्यमा ३३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले प्यानलसहित अध्यक्षमा मनोनयन दर्ता गराएका छन् । शेर्पाले सोमबार आफ्नो समूहसहित उम्मेदवारी दर्ता गराएका थिए । नेम्बाङले सोमबार मनोनयन दर्ता गरेपनि उनको समूहका अधिकांशले बुधबार उम्मेदवारी दिएका छन् ।
नेम्बाङ प्यानलबाट वरिष्ठ उपाध्यक्षका रुपमा अहिले उपाध्यक्ष वीरबहादुर खड्काले मनोनयन दर्ता गराएका छन् । शेर्पा समूहले शिक्षित पराजुलीलाई वरिष्ठ उपाध्यक्षमा प्रस्तुत गरेको छ । उपाध्यक्षमा दुवै समूहका समान ४ जनाले उम्मेदवारी दिएका छन् ।
नेम्बाङको समूहबाट ४ उपाध्यक्षका लागि काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष समेत रहेका एन्फाका पूर्व कोषाध्यक्ष विराटजंग शाही, एन्फा सदस्य दावा लामा, एनआरटीका सुन्दरनरसिंह जोशी र धादिङ एन्फाका अध्यक्ष दीपक खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार शेर्पा समूहबाट एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह, सदस्यद्वय दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ र पूर्व अन्तर्राष्ट्रिय खेलाडी विज्ञानराज शर्माले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका थिए ।
नेम्बाङकोतर्फबाट भोजपुर एन्फा प्रविण सुवाल, ललिपुर एन्फा अध्यक्ष पुरुषोत्तम थापा, जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री, मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष एवंम् एन्फा सदस्य विजय घले, रौतहटका नेपाल कार्की, धनुषाका तपेश्वर राउत र काभ्रेका विकास नारायण श्रेष्ठले सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
अनौपचारिक रुपमा प्यानल भनिएपनि उम्मेदवारी दर्ता भने स्वतन्त्र रुपमा गर्नुपर्ने हुन्छ । नेम्बाङ समूहमा रहेका भनिएका बाँके एन्फाका अध्यक्ष भोजराज शाही, सुर्खेत एन्फाका अध्यक्ष रविन्द्र चन्द र कैलाली एन्फाका अनिल मल्लले सदस्यमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।
शेर्पा समूहबाट मणिकुमार लिम्बु, मणिराज विष्ट, तपेश्वरकुमार राउत, मानदेव हजारा, दिपेन्द्र धिमाल बुढथापा, अनिल श्रेष्ठ, रामराजा गुरुङ, लोकेन्द्र गुरुङ, प्रदेश सिंह राठोर, मनिष जोशी, रुपेश अधिकारीले सदस्यमा मनोनयन दर्ता गराएका थिए । २ महिला सदस्यका लागि विमला पौडेल, सरिला श्रेष्ठ मलेकु, विन्द्रा देवान, पेमा डोल्मा लामा र विना नवाछे श्रेष्ठले मनोनयन दर्ता गराएका थिए ।
अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजीव पौडेलले भने मनोनयन दर्ता गर्न बाँकी रहेको छ ।
