
धादिङ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा पूर्व प्राथमिक तहको ग्राजुएशन बुधबार सम्पन्न भएको छ ।
विद्यालयमा कक्षा यूकेजीमा अध्ययन गरेका विद्यार्थीहरूको दिक्षान्त समारोह तथा नतिजा प्रकाशन कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममापूर्व प्राथमिक तहका विद्यर्थीहरू र अभिभावकहरूको उपस्थिति रहेको थियो जसमा विद्यार्थीहरूका विविध प्रतिभाहरू प्रदर्शन गरिएको थियो ।
विद्यालय सञ्चालन समितिका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ ‘गोर्खाली’को अध्यक्षतामा सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रि-स्कुलका विभिन्न कक्षामा उत्कृष्ट जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरी सम्मान गरिएको थियो भने यूकेजीका विद्यार्थीहरूलाई प्रिस्कुल कम्प्लेशनको प्रमाणपत्र सहित सम्मान गर्दै दिक्षान्त समारोह समापन भएकाे थियाे ।
कक्षा यूकेजीका विद्यार्थीहरूको तर्फबाट परिधि भट्टले आफूलाई शिक्षण गर्ने शिक्षिकाहरूलाई धन्यवाद दिँदै सम्बोधन गरेकी थिइन् । त्यसैगरी कार्यक्रममा बोल्दै विद्यार्थीहरूसँग बिताएका हजारौँ अविस्मरणीय क्षणहरू रहेको कुरा समेट्दै कक्षा शिक्षिका उमा तामाङले आफ्नो अनुभव सुनाएकि थिईन ।
विद्यालयले प्रत्येक वर्ष पूर्व प्राथमिक तह पार गरेका विद्यार्थीहरूलाई लक्षित गरी भव्य रूपमा दिक्षान्त समारोह आयोजना गर्ने गरिएको विद्यालयका प्रिन्सिपल भिम बहादुर श्रेष्ठले बताए । साथै नयाँ शैक्षिक सत्र २०७९ को लागि भर्ना कार्यक्रम बैशाख १५ गते बिहीबारदेखि सुरु हुने समेत जानकारी गराएका थिए ।
