त्रिकोणात्मक अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपाल च्याम्पियन

Avatar photo
Dhadingpost
चैत्र २१, २०७८

काठमाडौं । घरेलु टोलीले नेपालले त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले सिरिजको उपाधि जितेको हो ।

यससँगै सन्दीप लामिछानेको कप्तानीमा नेपालले पहिलो पटक सिरिजको उपाधि जितेको छ । यस्तै नेपालले अपराजित रहदै सिरिजको उपाधि जितेको छ । नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६ ओभर १ बलमा अलआउट हुँदै १ सय १८ रन मात्र बनाउन सक्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ खेले । उनले ३८ बलमा अविजित ५ चौका प्रहार गर्दा टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी बने ।

आक्रामक ब्याटिङ गरेका करण केसीले अविजित रहदै ३३ रन बनाए । उनले १२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै नेपाललाई बलियो स्कोर खडा गर्न मद्दत गरे । दिपेन्द्र र करणले अन्तिम २४ बलमा ५४ रन जोड्दै नेपाललाई राम्रो स्कोरमा पुर्याएका हुन् । यस्तै ओपनर कुशल भुर्तेल र आसिफ शेखले २५ र २९ रनको योगदान गरे । कुशलले २२ बलमा ५ चौका प्रहार गर्दा आसिफले २९ बलमा १ छक्का प्रहार गरे ।

नेपालले ११ ओभरमा २ विकेट गुमाएर ८२ रन बनाएको थियो । तर १२ औं ओभरमा विना कुनै रन जोड्दा नेपालले ३ विकेट गुमाएपछि पीएनजीले पकड जमाएको थियो । सेमो कमेअको ओभरमा नेपालले एक रन नजोडी ३ विकेट गुमाएको हो । आदील आलमले १३ बलमा १ चौका र १ छक्का प्रहार गर्दा १५ रन बनाएर आउट भए ।

पीएनजीका कमेअले आफ्नो ४ ओभर बलिङ गर्दै १ मेडेन राख्दै २८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै चाड सोपर, काबुअ मोरेय र रिले हेकुरेले समान १/१ विकेट लिए ।