बागमतीलाई राष्ट्रिय च्याम्पिन बनाउन धादिङका खेलाडीले १ स्वर्ण सहित ३ पदक जिते

Avatar photo
Dhadingpost
चैत्र २०, २०७८

धादिङ । बागमती प्रदेशले १७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । बागमती प्रदेशको जितका लागि धादिङका रुपेश तामाङले स्वर्ण, सुप्रिमा बजगाईले रजत, प्रविण तामाङ र धनबहादुर गुरुङले कास्य पदक जितेका थिए ।

नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष एवम् धादिङका तेक्वान्दो प्रशिक्षक प्रदिप गिरीका अनुसार सातदोबा टोस्थित तेक्वान्दो एकेडेमीको हलमा भएको राष्ट्रिय खेलाडी छनोट प्रतियोगितामा ९ स्वर्ण, ४ रजत र ११ कांस्य बागमती प्रदेश प्रथम भएको हो ।

५ स्वर्ण र १ कांस्यसाथ नेपाल प्रहरी दोस्रो भएको थियो भने ३ स्वर्ण, ४ रजत र ५ कांस्य सहित लुम्बिनी प्रदेश तेस्रो भएको गिरीले धादिङपोष्टलाई बताए । धादिङबाट सुप्रिमा बजगाई, धनबहादुर गुरुङ, पावल तामाङ, रुपेश तामाङ, अभिषेक डल्लाकोटी र प्रविण तामाङ बागमती प्रदेशबाट छनोट भई यस प्रतियोगितामा खेलेका थिए ।

प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ गरी १० टिमका करिव तीन सय खेलाडीको सहभागिता रहेको थियो । सिनियरको पुरुषमा लुम्बिनीका नवराज बस्नेत तथा महिलामा प्रहरीकी कञ्चन थापा उत्कृष्ट खेलाडी घोषित भए ।

जुनियरको पुरुषमा प्रदेश १ का सुशान्त थापा तथा महिलामा सुदूरपश्चिम प्रदेशकी गीता कठायत उत्कृष्ट खेलाडी चुनिए । कर्णाली प्रदेशले अनुशासित टिमको उपाधि हात पार्‍यो । दुई दिने प्रतियोगिताको सिनियरमा १६ र जुनियरमा १० गरी २६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । २ सय ३७ खेलाडी सहभागी थिए ।