धादिङको महिला टिम बागमती प्रदेश स्तरीय ब्याडमिन्टनमा प्रथम

Avatar photo
Dhadingpost
चैत्र १, २०७८

धादिङ । बागमती प्रदेश सरकारकाे आयाेजनामा सुरुभएकाे प्रथम बागमती प्रदेश स्तरीय खेलकुद प्रतियाेगिता अन्तरगत हेटाैडामा जारी ब्याडमिन्टन प्रतियाेगितामा धादिङको महिला टिम प्रथम भएकाे छ भने पुरुष टिम तृतीय भएकाे छ ।

ब्याडमिन्टन प्रतियाेगितामा ललितपुरलाई पराजित गर्दै धादिङको महिला फाईनल पुगेकाे धादिङको महिला टिमले फाईनलमा सिन्धुपाल्चोकलाई हराउँदै प्रथम भएकाे हाे ।

प्रथम बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा फुटबल, ब्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, भलिबल, कराते, एथलेटिक्स र बक्सिङ समावेश छन् । मकवानपुरको हेटौंडाले तीन खेलको आयोजना गर्ने अवसर पाएको छ । जसमा पिप्ले क्याम्पा रंगशालामा पुरुष फुटबल, थानाभर्याङ कभर्डहलमा ब्याडमिन्टन जारी छ भने भुटनदेवी स्कुलमा चैत्र ५ देखि तेक्वान्दो हुनेछ ।

चितवनमा फागुन ३० देखि भलिबल र क्रिकेट एकै साथ सुरु हुनेछन् । माडी खेल मैदानमा महिला तथा पुरुष भलिबल र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा महिला तथा पुरुष क्रिकेटका खेलहरु संचालन हुनेछन् ।

त्यस्तै काठमाडौको दशरथ रंगशालामा चैत्र ६ देखि एथ्लेटिक्स हुनेछ । समापनसहित दुई खेलको आयोजना गर्ने अवसर काभ्रेले प्राप्त गरेको छ । महिला फुटबल चैत्र ७ देखि धुलिखेल फुटबल मैदानमा शुरु हुनेछ । चैत्र ९ देखि काभ्रेपलाञ्चोकमा बक्सिङ हुनेछ । सिन्धुपालञ्चोकमा चैत्र ७ गते देखि कराते शुरु हुनेछ । प्रतियोगिताको समापन चैत्र १२ गते काभ्रेपलाञ्चोकमा हुनेछ ।

प्रतियोगितालाई भब्य, व्यवस्थित र पारदर्शी बनाउन मुल आयोजक समितिका अलवा ६ वटा उपसमिति र ८ वटा प्राविधिक समिति गठन गरिएको छ । प्रतियोगितामा महिलातर्फ ९३९ र पुरुषतर्फ १२४९ गरि कुल २१८८ जना खेलाडीले आ–आफ्नो विधामा स्पर्धा गर्नेछन् ।