धादिङ-नुवाकोट समाज युकेद्वारा टेलिमेडिसिन उपकरण प्रदान

Avatar photo
Dhadingpost
माघ २९, २०७८

धादिङ । धादिङ-नुवाकोट समाज यु.के. ले आज एक कार्यक्रमका बीच धादिङको २ र नुवाकोटको २ वटा ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य चौकीलाई टेलिमेडिसिनका लागि उपकरणहरु प्रदान गरेको छ ।

समाजले नुवाकोटको काउले स्वस्थ चौकी र देउराली प्राथमिक हेल्थ सेन्टर, धादिङको लापा स्वस्थ चौकी र नेत्रावती डवजोङमा रहेको सेमजोङ प्रथामिक स्वस्थ केन्द्र गरी ४ वटा स्वास्थ्य चौकीहरुलाई टेलिमेडिसिन उपकरण प्रदान गरेको हो ।

समाजले काठमाडौंमा एक कार्यक्रम गरि बागमती प्रदेशका स्वस्थ मन्त्री निमा लामाको हातबाट यी ४ स्वास्थ्य संस्थाका प्रमुखहरुलाई उपकरण हस्तान्तरण गरेको हो । यी उपकरण खरिदका लागि धादिङ नुवाकोटबाट यूकेमा गई बसोवास गर्दै आएका व्यक्तिहरुले सहयोग गरेको समाजले जनाएको छ । सहयोगी व्यक्तिहरुको नाम तलको भिडियोमा सुन्न सकिनेछ ।

समाजका अध्यक्ष धन तामाङका अनुसार भिडियो सम्पर्क मार्फत विशेषज्ञ डाक्टरबाटै दुर्गमका बिरामीको उपचार र परामर्श दिने उद्देश्यले टेलिमेडिसिन उपकरणहरु यी स्वास्थ्य संस्थालाई प्रदान गरिएको हो ।

टेलिमेडिसिन के हो ?
आधुनिक चिकित्सा पद्धतिको प्रयोग दिनानुदिन बढ्दै गहिरहेको आजको विश्वमा टेलिमेडिसिन पछिल्लो उपचार सहजीकरण पद्धति हो । जसको प्रयोग केही बर्षदेखि नेपालमा उलेख्य मात्रामा भईरहेको छ । यसको सही प्रयोगले विकट भौगोलिक अवस्था भएको देशमा उपचार सेवामा आमूल परिवर्तन ल्याउन सक्छ । टेलिमेडिसिन भन्नाले बिरामी भन्दा टाढा रहेर गरिने उपचार सहजीकरण हो । जटिल खालका रोगसहित अन्य उपचार सेवा एकै ठाउँमा उपलब्ध नहुँदा टाढा रहेका चिकित्सकहरुले बिरामीको उपचारमा यसको प्रयोग गर्छन् ।