आज श्रीपंचमी, सरस्वतीको पुजा गरिँदै

Avatar photo
Dhadingpost
माघ २३, २०७८

धादिङ । आज माघ शुक्ल पंचमी अर्थात् श्रीपंचमी विद्याकी देवी सरस्वतीको पुजा आराधाना गरी मनाइदैछ । आजको दिनलाई शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा समेत आजको दिनलाई लिईने गरिन्छ ।

विशेषगरि आज विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ-अफ्ना कलासाधनाका उपादानहरु कापी(कलम, वाद्यययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गर्ने गर्दछन । देशभरका विभिन्न सरस्वती मन्दिरहरुमा बिद्यार्थीहरु देवी सरस्वतीको पूजा प्रर्थना गर्न बिहानै देखि भीड रहेको छ ।

तान्त्रिकहरु तन्त्रसिद्धीका लागि तारादेवीका रुपमा देवि सरस्वतीको आराधना गर्छन् । सूर्य उत्तर तिर लागी दिन लामो हुने र वसन्त ऋतु सुरु हुने विश्वासका साथ आजका दिनलाई वसन्त पंचमी पनि भन्ने गरिन्छ ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धी पाएकी ब्रहृमाकी अर्धाङगिनी ब्रहृमाणीको पूजा उपासनाले ज्ञान सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । आज सरस्वतीको पूजा गरी विद्याराम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि बढ्ने र चेतनाको ज्योति पाइन्छ भन्ने विश्वास छ ।