बागमती प्रदेश संसदीय समितिमा एमालेको जीत निश्चित, गठबन्धनले उम्मेदवारी दिएन

Avatar photo
Dhadingpost
माघ १७, २०७८

धादिङ । बागमती प्रदेशसभा अन्तरगत रहेको अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको आज हुने निर्वाचनमा नेकपा एमालेको तर्फबाट मात्रै उम्मेदवारी दर्ता भएको छ ।

दुवै समितिमा एमालेको एकल बहुमत रहेका कारण सत्तारुढ गठबन्धनले उम्मेदवारी नदिएको बताईएको छ । एमालेबाट अर्थ तथा विकास समिति सभापतिमा काठमाडौंका नारायणबहादुर सिलवाल र शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा काठमाडौंकै केशवप्रसाद पोखरेलले उम्मेदवारी दर्ता गराए छन् ।

वैशाखदेखि रिक्त रहेको अर्थ तथा विकास समितिमा २० जना सदस्यमध्ये एकजना सभापति चयन गरिनेछ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एकजना सभापति चयन गरिनेछ ।

दुवै समितिमा नेकपा एमालेको स्पष्ट बहुमत रहेको छ । दुवै समितिमा १२–१२ जना सदस्य नेकपा एमालेबाटै रहेका छन् । अर्थ तथा विकास समितिका सदस्यहरु सन्तबहादुर प्रजा र दीपेन्द्र श्रेष्ठ प्रदेश सरकारको मन्त्री रहको कारण उनीहरु निर्वाचनमा सहभागी हुने छैनन् । अर्थ तथा विकास समितिका तत्कालिन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री वनेसँगै उक्त पद रिक्त रहेको थियो ।

शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा मन्त्री नियुक्त भएसँगै उक्त पद पनि रिक्त रहेको छ । प्रदेश सभा सचिवालयले अर्थ तथा विकास समितिको सभापति पदको निर्वाचन आज मध्यान्ह १२ बजेका लागि तय गरेको छ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदको निर्वाचन आज दिनको २ बजेका लागि तय गरिएको छ ।