धादिङको जनसंख्या ३ लाख २२ हजार ७५१ जना

Avatar photo
Dhadingpost
माघ १२, २०७८

धादिङ । धादिङको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ। धादिङ सहित ३२ वटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको हो ।

तराईका सबै जिल्लाहरुको जनसंख्या वृद्धिदर धनात्मक देखिएको छ भने हिमाली र पहाडी क्षेत्रका ३२ वटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ, गत २०६८ को जनगणनामा यस्तो जिल्लाको संख्या २७ मात्रै थियो ।

०६८ को जनगणनामामा धादिङ जिल्लाको जनसंख्या ३ लाख ३६ हजार ०६७ जना थियो भने ०७८ को जनगणनामा जनसंख्या वृद्धिदर ०.३९ ऋणात्मक देखिएको हो । ०७८ को जनगणना अनुसार धादिङको जनसंख्या ३ लाख २२ हजार ७५१ जना मात्रै देखिएको छ । यो संख्या ०६८ को गणनाको भन्दा १३ हजार ३१६ जना कम हो ।

सबैभन्दा ऋणात्मक वृद्धिदर रामेछाम जिल्लामा -१.६५ प्रतिशत छ । सवैभन्दा कम जनसंख्या वृद्धि हुनेमा रामेछापसहित खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम छन् ।

सबैभन्दा धेरै वार्षिक वृद्धिदर भक्तपुर जिल्लामा ३.३२ प्रशित छ । रुपन्देही, चितवन, बाँके र सुनसरी जिल्ला पनि बढी वृद्धिदर भएका जिल्ला हुन् । सबैभन्दा धेरै जनसंख्या काठमाडौं जिल्लामा २०,१७,५३२ जना र सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा ५,६४५ जना छ । मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसंख्या भएका जिल्लाहरू हुन् ।

नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ । अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।