बूढीगण्डकी प्रभावितको मुआब्जामा ह्रासकट्टी नहुने

Avatar photo
Dhadingpost
माघ ९, २०७८

धादिङ । बूढीगण्डकी जलविद्युत आयोजनाको डुवानमा पर्ने भौतिक संरचनाको मुआब्जामा ह्रासकट्टी नगरिने मन्त्रिपरिषदबाट निर्णय पास भएको छ ।

बूढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने ब्यक्तिको नाममा रहेको घरगोठ, फलफूल र बोटविरुवा लगायत भौतिक संरचनाको ह्रासकट्टी नगरि क्षतिपूर्ति (मुआब्जा) दिने मन्त्रिपरिषदले निर्णय गरेको हो ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिवलाई निर्णयबारे जानकारी गराउँदै सोही अनुसार कार्यान्वयन गर्न मुख्यसचिव शंकरदास बैरागीले निर्देशन दिएका छन् ।

मन्त्रिपरिषद्को निर्णयसँगै अब बूढीगण्डकी आयोजनाको डुवानमा पर्ने भौतिक संरचनाको मुआब्जा निर्धारण गरि वितरण गर्ने बाटो खुलेको छ ।

बूढीगण्डकी जलविद्युत आयोजना अन्तर्गतको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाईले डुवान क्षेत्रमा पर्ने घर, गोठ, फलफूल, बोटविरुवा लगायत संरचनाको लगत संकलन गरिसकेको छ ।

साविकको भवन अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाईले घरगोठ, डिभिजन वन कार्यालयले बोटविरुवा र कृषि ज्ञानकेन्द्रले फलफूलको लगत संकलन गरेका हुन् ।