
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि शनिबार सम्म मौसम बदली हुने, पानी पर्ने र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज प्रदेश नं १ र मधेश प्रदेश लगायत पहाडी भूभागहरुमा आंशिक बदली र तराईका धेरै स्थानहरुमा हुस्सुरकुहिरो लागेको छ । आजै राति र भोलि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पानी पर्ने मौसमविद मञ्जु वासीले बताइन् ।
त्यसपछि अन्य प्रदेशमा पनि यसको प्रभाव फैलिंदै जाने छ । ‘यो प्रणालीको प्रभावले उच्च भूभागमा हिमपात पनि हुन्छ, पानी पनि पर्छ’, मौसमविद वासीले भनिन् । काठमाडौं उपत्यकामा शुक्रबार र शनिबार हल्का पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिइन् ।
शुक्रबार पश्चिमी भूभागका साथै गण्डकी, लुम्बिनी, बागमती, प्रदेश १ का पहाडी भूभाग र मधेश प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी भूभागमा हल्का हिमपात हुनसक्ने अनुमान छ ।
