
काठमाडौं । कोरोनाको तेस्रो लहरबाट जोगिन सरकारले सोमबारबाट २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएको छ । तर, २४ घन्टा नबित्दै देशका उच्चपदस्थ व्यक्तिबाटै सिंहदबार गेटमै सरकारी निर्णयको अवज्ञा भएको छ । जब कि सोमबारको तुलनामा मंगलबार संक्रमण करिब ८० प्रतिशतले वृद्धि भएको छ । मंगलबार दुई हजार चार सय ४४ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
सिसिएमसिसीदेखि उपत्यकाका सिडिओहरूसम्मले सार्वजनिक स्थानमा २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएका छन्, तर सिंहदरबार गेटमै राष्ट्रपतिदेखि पूर्वराजासम्मले स्वास्थ्य मापदण्डको धज्जी उडाउँदै भिड जम्मा गरेका छन्, जब कि कुल संक्रमितको आधाभन्दा धेरै काठमाडौं उपत्यकामै छन् ।
तर, मंगलबार पृथ्वीनारायण शाहको जन्मजयन्तीमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पूर्वराजा ज्ञानेन्द्र शाहसम्मले भिड जम्मा गरेका छन् । सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न उनीहरू पुग्दा ठूलो भिड जम्मा भएको थियो ।
राष्ट्रपति सुरक्षाकर्मी मात्र लिएर गए पनि कार्यक्रमस्थलवरिपरि सर्वसाधारणको भिड थियो । विगतका वर्षहरूमा राष्ट्रपति यसरी नजाने गरे पनि कोरोनाकै समयमा भने यस्तो कार्यक्रममा जानुलाई सुरक्षाकर्मीले समेत अनौठो मानेका छन् । मंगलबार नै राष्ट्रपति भण्डारीले चन्द्रागिरि नगरपालिका– १ स्थित दहचोकमा रहेको काजी कालु पाँडेको सालिकमा पुष्पहार अर्पण गरेकी थिइन् ।
राष्ट्रपतिले अपराह्न ट्विट गर्दै राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा कार्यक्रम मिलाएकामा नेपालका विभिन्न प्रज्ञा–प्रतिष्ठान, स्थानीय तह, नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकायलाई पनि धन्यवाद दिएकी छिन् । ३००औँ पृथ्वी जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी पुगेकी थिइन् । त्यसअघि कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानबाट सांस्कृतिक झाँकीसहित शोभायात्रा राजधानीको विभिन्न भाग परिक्रमा गरी सिंहदरबारको पश्चिम मूलढोकामा आइपुगेको थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित हुँदा त उनका समर्थकको ठूलो भिड नै थियो । त्यस्तै, राप्रपाका नेता तथा कार्यकर्ता नारा–जुलुससहित त्यहाँ पुग्दा पनि प्रशासनले आफ्नै निर्णय कार्यान्वयन गराउन सकेन ।

