खेलाडी उत्साहित, पालिका उदासिन, धादिङबाट प्रदेशका लागि कसरी छानिएलान्

Avatar photo
Dhadingpost
मंसिर १५, २०७८

धादिङ मंसिर १५ । प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशले ८ विधाका खेलहरु स्थानीय तह हुँदै जिल्लाबाट प्रदेशका लागि मंसिर मसान्त भित्रमा खेलाडी छनोट गरि पठाउन कार्तिक २३ गने वागमती प्रदेश अन्तरगतका जिल्ला खेलकुद विकास समितिहरुलाई पत्रचार गर्यो ।

प्रदेशको पत्रको आधारमा जिल्ला खेलकुद विकास समिति धादिङले पनि जिल्लाका १३ वटै स्थानीय तहहरुलाई मंसिर ६ गते पत्रचार गरि मंसिर २५ गते भित्रमा खेलाडी छनोट गराउन अनुरोध गरेको छ । तर यो पत्र अनुसार धादिङका पालिकाहरुले अझै खेलाडी छनोटको कार्यक्रम तय गरेका छैनन् ।

विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषदले १ लाख स्थानीयतहको खातामा पठाउँदा समेत पैसा थोरै भएको भन्दै प्रतियोगिता नगराउने धादिङका स्थानीय तहहरु अहिले सबै खर्च आफै व्यहोर्नु पर्ने कारणले पनि छनोट प्रतियोगिता तयारी गर्न सकि रहेका छैनन् ।

जिल्ला खेलाडीहरु प्रदेश स्तरीय प्रतियोगिताको लागि स्थानीय तह र जिल्लामा छनोट नहुने हो कि भन्न चिन्ता व्यक्त गर्न थालेका छन् । यस विषयमा स्थानीय तहले खेलाडी छनोट गरेनन् भने जिल्लाले कसरी खेलाडी छनोट गर्न भन्ने जिज्ञासा हामी जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङलाई राखेका थियौं । स्थानीय तहलाई हामीपत्रचार गरेका छौं खेलाडीहरुले पनि स्थानीय तहमा सम्पर्क गर्यो पर्यो स्थानीय तहले छनोट गरी जिल्लामा पठाउनेमा आफू ढुक्क रहेको उनलले बताए । तोकिएको समय सकिन अब ८ दिन बाँकी छ, प्रतियोगिता गराउन पालिकाहरु उदासि बन्दा खेलाडीहरु चिन्तित बनेका छन् ।

प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशले गर्न लागेको ८ विधाका खेलहरुमा फुटबल, एथलेटिक्स म्याराथुन, बक्सिङ, तेक्वान्दो, कराँते, भलिबल, ब्याडसमण्टन र क्रिकेट रहेका छन् । क्रिकेट प्रतियोगितामा पुरुष मात्रै भाग लिन पाउने छन् भने अन्य सबै विधाका खेलहरु महिला पुरुष दुईको टिम रहने बताईएको छ ।

प्रदेश खेलकुद बिकास परिषद्को बिनियोजित २ करोड र थप प्रदेश सरकारबाट ४ करोड ५४ लाख गरि ६ करोड ५४ लाखको कुल लागत परिषदले यी खेलहरुको प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिताको लागि स्थानीय तहले प्रतियोगिता वा छनोटमार्फत टिम तयार गरि जिल्ला प्रतियोगिताको लागि सहभागी हुन पठाउनु पर्नेछ ।

प्रत्येक जिल्लाले जिल्ला प्रतियोगिताको लागि ८ लाखको दरले अनुदान प्राप्त गर्नेछन् तर स्थानीय तहले भने आफ्नै खर्चमा खेलाडी छनोट गर्नु पर्ने परषदले जनाएको छ । एक महिना सम्म चल्ने यस प्रतियोगिता प्रदेशका १३ वटै जिल्लालाई समेट्ने गरि भनिएको छ ।