
काठमाडौं असोज २ । एएफसी महिला एसियन कप-२०२२ छनोटको पहिलो खेलमा नेपालले आज शनिबार फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह एफ को नेपाल र फिलिपिन्सबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले उज्वेकिस्तानमा एएफसी एसियन कप छनोट अन्तर्गत फिलिपिन्स र हङकङको सामना गर्दा टोलीसामु विश्वकपको बाटोमा अघि बढ्ने अवसर पनि हुनेछ । हालसम्म तीन पटक एसियन कप खेलेको नेपालले पहिलो पटक फिफा विश्वकपको छनोटमा सहभागिता जनाउने अवसर पाएको हो ।
आजको खेलमा फिफा वरीयतामा ३३ स्थान माथिको फिलिपिन्सविरुद्ध नेपाललाई सहज भने हुने छैन । महिलाको फिफा वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको छ । फिलिपिन्स ६८ औं स्थानमा रहेको छ ।
सन् १९९९ मा एसियन कप खेलेपछि झन्डै एक दशक महिला फुटबलको अन्तर्राष्ट्रिय गतिविधि शून्य रहयो । सन् २०१० को ११ औं दक्षिण एसियाली खेलकुदबाट पुनस् अन्तर्राष्ट्रिय जगतमा चलायमान भएको नेपाली फुटबल २ दशकको अनुपस्थितिपछि एसियन कप खेल्ने सुरमा छ । यसपटक एसियन कपसँगै विश्वकप पुग्ने बाटो पनि नेपालसामु छ । एसियन कपमा छनोट हुने टोलीसँग मात्र विश्वकप खेल्ने अवसर रहनेछ ।
सन् १९९१ बाट सुरु भएको फिफाको महिला विश्वकपको नवौं संस्करण सन् २०२३ मा अष्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त आयोजना हुँदैछ । नवौं संस्करणमा सहभागी टोली संख्या २४ बाट बढाएर ३२ पुर्याइएको छ । एसियाबाट आयोजक अष्ट्रेलिया स्वतस् छनोट हुँदा थप ५ टोलीले छनोट हुने अवसर पाउनेछन् । यसबाहेक २ टोलीले अन्तर कन्फेडेरेसन छनोटमा प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो पटक विश्वकप खेल्ने बाटोमा अघि बढेको टोलीसँग यसपटक आफ्नो मुख्य फरवार्ड सावित्रा भण्डारीको साथ छैन । चोटका कारण महिला फुटबलले हालसम्म पाएको सर्वोत्कृष्ट खेलाडी नहुँदा टोलीलाई पक्कै कठिन छ । फिलिपिन्स र हङकङले आफ्नो तयारी राम्रो रहेको बताइरहँदा नेपाली टोली पहिलो पटक विदेशी प्रशिक्षकसँग एक महिना तयारी गरेर उज्वेकिस्तान प्रस्थान गरेको छ ।

