कोरोना कहर बीच दशैं

Avatar photo
Dhadingpost
कार्तिक ९, २०७७

नेपाली चाड यो विजया दशमी, आयो है आउन तर
कोरोना डर छ अहिले हामीमा, खुसी पो कहाँ छर ।
के होला कसो खै भनी भनीकन, डरमाथी डरै डर
जो जा छन् उही नै बस्नु पर्ने, डर छ आउन घर ।।
(१)

रौनक ताजै छ मानसपटलमा, पोहोर र परारको
निधारमा टिका, कानमा जमरा, हास्दै पिङ खेल्न गाको ।
रौनक नै छइन, न कुनै उमंग, यो बर्ष खै के भाको
आफ्नै घर परिवार विछोड पारने, पापी कोरोना आको ।।
(२)

उमंग छइन, पहिले जसरी, कोरोना रोगको भय
टाढाका आएनन्, उतै ती रहेका, नजिकका घर गए ।
केही छैन रौनक चाडपर्व अहिले, के आयो यस्तो दिन
नपाउँदा भेटन आफ्ना ती आफन्त, फोन मात्र छिनका छिन ।।
(३)

समय यस्तै छ अहिले यो बेला, बुझाउनै पर्छ मन
रोग साम्य भएसी मनाम्ला पर्व यो, स्वास्थ राखौं जीवन ।
पर्व हो यो खाने खेल्नेअनि भनी, लाग्दो हो उस्तै मन
रोगको कुनै पर्वाहा नगर्दा, के पो होला खै भन ।।
(४)

नगरौ घुमफिर कहि कतै पनि, निस्फ्रिक्रि यताउती
नभेट्नु कसैलाई सितिमिति यसै, भएपनि छटपटी ।
नगर्नु खेलबाड भेला भईकन, भन्दै दुई दिनको चोला
छैन है औषधि कोभिड कोरोनाको, रोग सरे के पो होला ?
(५)

सानुबाबु तिमिल्सिना
सिद्धलेक नलाङ