
धादिङबेसी । अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशन तथा साधारण सभा आगामी असोज ३१ गते (अक्टोबर १७) धादिङबेसीमा आयोजना हुने भएको छ । महाधिवेशन तथा स्मारिका प्रकाशनका लागि समाजले देश तथा विदेशमा रहेका धादिङवासीलाई प्रायोजन गर्न आह्वान गरिएको छ ।
महाधिवेशन भव्य रूपमा सम्पन्न गर्न तथा स्मारिका प्रकाशनका लागि सहयोग जुटाउने उद्देश्यले समाजले विभिन्न तहका प्रायोजनको व्यवस्था गरेको हो । समाजका अध्यक्ष राजन खकुरालले महाधिवेशनमा जोडिन तथा आफ्नो क्षेत्रबाट सहयोग गर्न सम्पूर्ण धादिङवासीलाई आग्रह गरेका छन् ।
समाजले टाइटल स्पोन्सरका लागि २ लाख रुपैयाँ, डायमण्ड स्पोन्सरका लागि १ लाख ५० हजार रुपैयाँ, गोल्ड स्पोन्सरका लागि १ लाख रुपैयाँ र सिल्भर स्पोन्सरका लागि ५० हजार रुपैयाँको दररेट निर्धारण गरेको छ ।
महाधिवेशनका लागि हालसम्म तीन जना व्यक्तित्वले विभिन्न तहमा प्रायोजनको घोषणा गरिसकेका छन् ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष तथा व्यवसायी एवं समाजसेवी लोकप्रसाद दाहालले प्लाटिनम पार्टनरका रूपमा महाधिवेशनका लागि सहयोग गरेका छन् । दाहाल बेल्जियममा रहेको सुशी किङका निर्देशक हुन् ।
त्यस्तै, बिज एजुकेसनका निर्देशक हरि कार्कीले कार्यक्रम तथा स्मारिका प्रकाशनका लागि गोल्ड पार्टनरका रूपमा सहयोग गर्ने घोषणा गरेका छन् ।
अन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार तथा धादिङ समाज अमेरिकाका निवर्तमान अध्यक्ष टेकबहादुर रुवालीले सिल्भर पार्टनरका रूपमा सहयोग गर्ने घोषणा गरेका छन् ।
समाजका अनुसार महाधिवेशन तथा स्मारिका प्रकाशनपछि बचत भएको रकम सामाजिक कार्यमा उपयोग गरिनेछ ।
समाजले महाधिवेशनका लागि सहयोग गर्ने प्रायोजकप्रति आभार व्यक्त गर्दै सम्पूर्ण धादिङवासीलाई महाधिवेशनमा जोडिन र आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ ।
