
धादिङ असोज ३ । धादिङ बेनीघाट रोराङ गाउँपालिका निवासी एवम् राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कंडेल सहित धादिङका ५ जना संविधान दिवसको अवसरमा सम्मानित हुनुभएको छ ।
लामो समय देखि सहकारी आन्दोलनको अग्रभागमा रहेर नेतृत्व गर्दै आउनु भएको कंडेललाई सरकारले संविधान दिवसको अवसरमा शनिबार सुप्रबल जनसेवा श्री (चतुर्थ) पदकबाट सम्मान गरेको हो । यस्तै बेनीघाट रोराङ कै राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव रमेशकुमार सिलवाल पनि सुप्रबल जनसेवा श्री (तृतीय) बाट सम्मानित भएका छन् ।
यसैगरी सरकारले धादिङ नीलकण्ठ नगरपालिका ११ (हाल ललितपुर बस्ने) अम्बिका धमला, ज्वालमुखी गाउँपालिका (हाल काठमाडौं बस्ने ) बस्ने संचारकर्मी तेजदत्त खकुराल र जिल्ला प्रशासन धादिङमा कार्यरत लिलाकान्त विश्वकर्मालाई जनसेवा श्री (पञ्चम) पदकबाट सम्मान गरेको छ ।
सरकारले संविधान दिवसको अवसरमा ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरेको हो ।

