
धादिङ, जेठ २८ । जिल्ला अस्पताल धादिङमा एम्बुलेन्सको हाहाकार छ । धादिङ अस्पतालले काठमाडौं रिफर गरेका अधिकांश गर्भवति महिलालाई पृथ्वी राजमार्गमा चल्ने एम्बुलेन्सको सहारमा काठमाडौं पुर्याइन्छ ।
तर, गत जेठ २२ गते जिल्ला अस्पताल धादिङको एम्बुलेन्स र अस्पतालकै अर्को बा १ च ७८४४ नम्बरको गाडी नेपाल भारत सिमा वीरगन्जको रक्सौल पुग्यो ।
एउटा गाडीमा अस्पतालकै सञ्चालक समिति अध्यक्ष महेन्द्र धमला सवार थिए । सरकारी एम्बुलेन्स र अर्को गाडी कुनै गम्भिर विरामी लिन वा पुर्याउँन होइन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) त्रिभुवन चन्द्र झालाई लिन गएको थियो ।
गत चैत्र पहिलो हप्तादेखि नै जिल्ला अस्पताल हाजिर नभएका झा करिब साढे २ महिनासम्म भारतमै बसे ।
स्रोतका अनुसार भारतको नयाँ दिल्लीमा रहेको उनको ससुराली घरमै उनले साढे २ महिना बिताए । यस विषयमा दियोपोष्टले अस्पतालका अध्यक्ष महेन्द्र धमलालाई सम्पर्क गर्दा उनले लकडाउनका कारण भारतमै मेसु झा फसेको बताएका थिए ।
नेपालमा कोरोना भाइरस कोभिड १९ को महामारी चलिरहँदा जिल्ला अस्पताल धादिङका कार्यालय प्रमुख भारतमै थिए । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने बिदाको दिनमा समेत स्वास्थ्य क्षेत्रका सबै कर्मचारीलाई कार्यालयमा हाजिर हुन लिखित निर्देशन दिएको थियो ।
उनै झा लकडाउन जारी रहँदै २ वटा गाडीको तामझाम सहित नेपाल फर्किए । भारतबाट आएका अधिकांश नागरिक क्वारेन्टाइनमा बसेका छन् । जिल्ला अस्पताल अगाडीकै निलकण्ठ क्याम्पसमा १६ जना भारतबाट आएका नागरिकलाई कोरोना भाइरस कोभिड १९ पोजिटिभ देखिएको छ । तर, जिल्ला अस्पतालकै कार्यालय प्रमुख झा भने क्वारेन्टाइनमा बस्न अस्विकार गरेको स्रोतले जनाएको छ ।
कोरोना परिक्षण बिनै भारतबाट आएका झा जिल्ला अस्पतालको शल्यक्रिया कक्ष ‘अपरेशन थियटरसम्म’ पुगेको जिल्ला अस्पताल पुगेका एक विरामीका आफन्तले बताएका छन् ।
सामान्य नागरिकलाई २ हप्तासम्म क्वारेन्टाइनमा राख्ने प्रशासनले भने मेडिकल सुपरिटेन्डेन्ट झालाई खुलमखुल्ला बजार क्षेत्रदखि अस्पतालको शल्यक्रिया कक्षसम्म आउजाउ गर्न दिएको छ ।
‘भारतबाट आएका निलकण्ठ क्याम्पसमा क्वारेन्टाइनमा बसेका १६ जनालाई कोरोना देखियो भन्ने आएको छ । तर भारतबाटै आएका मेसु बजारमा मात्रै होइन अपरेशन कक्षसम्म पुगेको देखेको छु,’ उनलाई नजिकबाट चिन्ने एक व्यक्तिको प्रश्न छ,‘उनलाई कुन शक्तिको आडमा बजार डुल्न र अपरेशन थियटरमा जान दिइएको छ । १५ दिन क्वारेन्टाइनमा बस्नुपर्ने होइन र ?’
३० लाख घाटामा पुगेको धादिङ अस्पतालका हाकिम चढ्न नयाँ गाडी किनिँदै
गत भदौमा जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट भएर आएदेखि नै त्रिभुवन चन्द्र झा कार्यालयमा अक्सर मात्रै पुग्थे ।
भदौमा उनी एक हप्ता मात्रै हाजिर भएको स्रोत बताउँछ । नेपाल मेडिकल एशोसियसन (एनएमए)को चुनाव ताका उनी सदस्य पदका आकांक्षी थिए । प्रदेश स्थित सामाजिक विकास मन्त्रालयसँग अनुमति नलिई उनी पुस र माघमा चुनाव प्रचारमै लागे ।
धादिङमा भएका ठूला सवारी दुर्घटनामा परेका विरामीको उपचारमा झा समलग्न थिएनन् । विश्वभर कोरोना भाइरस कोभिड १९ महामारी फैलिएपछि नेपालमा समेत त्यसको प्रभाव पर्न थाल्यो । सरकारले गत चैत्र ११ गतेदेखि मुलुकलाई पूर्ण लकडाउन गर्यो ।
झा भने कारोना महामारीकै भारतको नयाँ दिल्लीमा रहेको उनको ससुराली घरमा लुकेर बसे । लकडाउन जारी रहेकै बेला तामझाम सहित फर्किएका उनले अस्पतालको बजेटमा मनोमानी गर्न शुरु गरेको पाइएको छ । अस्पतालमा रहेका कर्मचारीहरु कोरोना महामारीबीच कसरी घर परिवार पाल्ने भन्ने चिन्तामा छन् । किन भने महिनौदेखिको प्रोत्साहन भत्ता रोकिएर उनीहरुको रोजीरोटीमा समस्या परिसकेको छ ।
जिल्ला अस्पताल नै ३० लाख घाटामा छ । यता सरकारले कोरोना महामारीका बीच नयाँ गाडी नकिनेर मितव्ययीता अपनाउन निर्देशन दिइरहेको बेला धादिङ अस्पतालमा मेसु झाको निर्देशनमा अस्पतालले कार्यालय प्रमुख चढ्नका लागि नयाँ गाडी किन्न टेन्डर आह्वान गरेका छन् । जसरी हुन्छ बजेट सक्न लागि परेका झाको निर्देशनमा अस्पतालले गरेको टेन्डर सुचनामा डबल क्याप भएको पिकअप भ्यान खरिदका लागि आह्वान गरिएको छ ।
अस्पतालले जारी गरेको उक्त सुचनामा कम्पनि र गाडीको ब्राण्ड उल्लेख गरिएको छैन । डबल क्याप पिकअप भ्यानलाई ५० लाखदेखि १ करोडसम्म पर्न आउँछ । तर, ब्राण्ड र कम्पनि नै नखुलाई खरिद गर्न लागिएको गाडीमा समेत अध्यक्ष धमला र झाको स्वार्थ मिलेको स्रोत बताउँछ । त्यसैले टेन्डर सुचनामा गाडीको मुल्य समेत उल्लेख गरिएको छैन ।
अध्यक्ष धमला भन्छन्,‘मेसुलाई लिन एम्बुलेन्स लिएर गएको हुँ, गाडी किन्न प्रदेश सरकारले निर्देशन दिएको छ’ ।
दियोपोष्टले धादिङ अस्पताल सञ्चालक समितिका अध्यक्ष महेन्द्र धमलालाई सम्पर्क गर्दा आफू मेसु झालाई लिन रक्सौलसम्म पुगेको स्विकार गरे ।
‘उहाँ दिल्लीमा जानु भएको थियो । उहाँको मिसेसको प्रब्लम थियो । दिल्ली जानु भएको २ दिनपछि लकडाउन भइहाल्यो । फेरी विदेशमा हुने नेपाली यता आउथ थालेपछि उहाँ पनि आउनु भएको हो,’ उनले भने,‘हामीले छुट्टै गाडी लिएर जाँदा संक्रमण हुन्छ भनेर एम्बुलेन्स लिएर गएका हौँ । त्यो एम्बुलेन्स कोरोना मैत्री छ । उहाँँलाई एम्बुलेन्समै ल्याएर क्वारेन्टाइनमा राखेका छौँ । हिजो स्वाव परिक्षण गरेर हेटौँडा पठाएका छौँ ।’
धमलाले मेसु झालाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने जानकारी दिए । तर, अस्पतालका एक सेवाग्राहीले भने आफूले मेसु झा अस्पताल र बाहिर समेत हिडेको देखेको बताए ।
गाडी खरिदको विषयमा भने उनले प्रदेश सरकारसँग माग गरेपनि प्रदेश सरकारकै निर्देशनको आधारमा खरिद गर्न लागिएको प्रतिक्रिया दिए । ‘प्रदेश सरकारले जिल्ला अस्पतालबाटै टेन्डर गरेर गाडी लिनुस् भन्नुभएको छ । मापदण्ड अनुसार सुचना निकालेका हौँ । प्रदेशबाटै आएको हो,’ धमलाले भने ।
गाडी खरिद, एम्बुलेन्समा सयर र क्वारेन्टाइन उलंघनको विषयमा प्रतिक्रिया लिन अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट झाको मोबाइलमा सम्पर्क गर्दा उनले फोन उठाएनन् । साभारः दियोपोष्ट

