
काठमाडौं बैशाख २१ । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वका २७ देशमा रहेका ७३ जना नेपालीको कोरोना भाईरस संक्रमणबाट मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।
एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा ८, साउथ इष्टमा ११, साउथ वेष्टमा ३ गरी ४९ जनाको मृत्यु भएको छ ।
यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या १५ पुगेको छ । जसमध्ये मध्य न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो ।
यस्तै, संयुक्त अरब इमिरेट्स् ९युएइ० मा ५, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको एनआरएनएले जनाएको छ ।
एनआरएनए स्वास्थ्य समितिका अनुसार मध्यपूर्वका बिभिन्न देशमा २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, युकेमा १ हजार, बहराइनमा १ सय २६, युएईमा १ सय, कुवेतमा ७८, नेपालमा ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्ट्रेलियामा १०, बेल्जियममा ६, जापानमा ६, स्वीडरल्याण्डमा ५, क्यानडामा ५, जर्मनीमा ४, साइप्रसमा ३, मलेसियामा ३, न्युजिल्याण्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङ्गकङ्गमा २, म्यानमारमा १ र फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
एनआरएले कोरोना भाइरसको महामारीबाट प्रभावितको सहयोगार्थ ४५ देशका राष्ट्रिय समितिमा राहत वितरणको काम गरिरहेको एनआरएका महासचिव डा हेमराज शर्माले बताउनुभयो । उहाँका अनुसार विभिन्न देशमा कोरोना महामारीबाट प्रभावित ३५ हजारभन्दा बढी नेपालीलाई राहत वितरण गरिएको छ ।
यसैबीच एनआरएनएका अध्यक्ष तथा एनआरएन, कोभिड– १९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले अध्यक्ष पन्तले सबै गैरआवासीय नेपालीलाई कोरोना भाइरसको महामारीविरुद्ध एकजुट भएर लड्न आग्रह गर्दै विभिन्न देशका सरकारी निकायले जारी गरेका स्वास्थ्य नियमलाई कडाइका साथ पालना गर्न आह्वान गरेका छन् ।
स्वास्थ्य समितिले एनआरएनका शाखा तथा स्थानीय संघ संस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ।

