
अरू नै कामको शिलसिलामा म कपिलवस्तुको राजमार्ग देखि उत्तरको एउटा गाउँमा गएको थिएँ । उहिले सङ्कटकालमा विचरण गरेको ठाउँ भएकोले चिनेको एउटा सम्पर्क पोइन्टको घरमा गएँ ।
मलाई देखेर घरबेटी बुबाअसाध्यै खुसि हुनुभयो । गुन्द्रीमा बस्न लगाउँदै मलाई एउटा स्टील गिलासमा मोहि ल्याएर दिनुभयो । बसेर कुरा गर्दागर्दै ‘एक्कैछिन पर्खनुस है बाबु’ भन्दै केहि सम्झिएझैं गरेर गोठतिर छिर्नु भयो ।
एकछिनपछि एउटा धैंसो लागेको डायरी लिएर आउनु भयो र भन्नु भयो, ‘यो हेर्नुस त बाबु। उहिले एकजना उतै रोल्पा रुकुमतिरका बाबुले यो राखिदिनुस् बुबा । म पछि आएर लैजान्छु भनेर राख्न दिएका हुन् । पछि उनीपनि आएनन, मैलेपनि बिर्सिएछु । अस्ति गोठ भत्काउँदा चिन्डोको खपटामा भेटाएँ । धेरै त मुसाले सकिसकेछ । तैपनि कहिँ केहि पत्ता लागेछ भने दिनु होला तै बाबु ।’
‘हुन्छ बुबा पत्ता लागे म दिन्छु नि’ भनेर डायरी हातमा लिएर झोलामा हालेँ । केहिबेरको कुराकानी पछि म ती घरबेटी बासँग छुट्टीएर बाटो लागें । घरमा पुगेपछि झोलाबाट डायरी निकालेर हेरें । दुबैतिरको कभर मुसाको आहार भैसकेको थियो । नाम कतै भेटिन्छकि भनेर खोजेँ । कतै भेटिन । त्यसपछि के लेखेको रहेछ भनेर पढ्नथालें जो यस प्रकार छ-
पुषको महिना । तराईमा शीतलहर चल्न थालेको थियो । सुर्य आधादिन काटेपछि एकैछिन झुलुक्क देखिएर अस्ताउँथ्यो । अचेलको शीतलहरको दिनमा त झन दिनभर बाक्लो हुस्सुले वरपर केहि देखिँदैनथ्यो । हुस्सुको आद्रता पातहरुमा ठोक्किएर रुखका पातहरुबाट टपटप पानी चुहुन्थ्यो । शीतलहरको असह्य चिसोले मानिसहरु कठ्याङ्ग्रीएर मर्ने क्रम शुरु हुनै लागेको थियो ।
माओवादी जनमुक्ति सेनाको स्पेसल टास्क फोर्स फौजी कार्यवाहिको लागी धानखोला वरिपरिको राजमार्गमा सेनालाई कुरेर बसेको हप्तौं भैसकेको थियो । त्यसैले एकदुई दिन सरसफाईको लागी कपिलवस्तुको गाउँ नजिकैको जंगलमा जाने कुरा भयो । साँझको अँध्यारोमा जनमुक्ति सेनाको टास्कफोर्स खोलादेखि करिव सय मिटर माथिबाट समानान्तर तेर्सिएको कालोपत्रे राजमार्ग पार गरेर तलको खोलातिर झर्यो । खोलैखाला पर गएर, रातको अँध्यारोमा रुखबाट सुकेर खसेका शितले आस्सिएका पातहरु चलिएर आएको ‘खोस्र्याक खोस्र्याक’ आवाजसँगै दाहिनेतिर मोडियो । र बाटोमै पर्ने एउटा गाउँमा रोकियो ।
साँझको भात खाईसकेपछि त्यो टास्कफोर्स फेरि गाउँबाट पश्चिमतिर हानियो । निस्पट अँध्यारोमा उस्तै ‘खोस्र्याक खोसर्याक’ गर्दै घनघोर जङ्गलबाट हिँडेर करिव एक घण्टापछि जनमुक्ति सेना जङ्गल भित्रको निर्धारित स्थानमा पुग्यो । बस्ने ठाउँको बारेमा पहिले नै भुगोल निर्धारित भैसकेकोले जनसेनाको बटालियनहरुले बाँडेको ठाउँहरुमा कम्पनिहरुलाई अस्थायी बास बनाउन लगायो । चर्को हुस्सु र शितबाट बच्न काँचो रुख काटेर गोठ बनाई थाकलको हरियो पात सहितको डाँठले छाउन थालियो । नपुग ठाउँमा सालका पात सहितको डाँठहरुले छाउने र वरपर सक्दोे बार लगाउने काम गरियो ।
गोठभित्र अम्लिसोको घाँस काटेर ओच्छ्याइयो । करिव एक घण्टा भित्र जङ्गल भित्र यो काम सकेर ड्युटि मिलाई टास्कफोर्स सुत्यो ।
आज जनमुक्ति सेनाले नुहाउनु छ, भनेर सायद प्रकृतिले पनि सुनेछ क्यारे बिहान उठदा हुस्सु पातालिएको थियो । र समयमै सुर्य उदायो । बिहानैबाट टोलि टोलिमा नुहाउन जाने क्रम शुरु भयो । महिलाहरुको लागी सेल्टरको पुर्वि भुगोल र पुरुषहरुको लागी पश्चिमी भुगोल तोकिएको थियो । भात खाएर फेरि नुहाउने धुने बाँकी सबै सकेर चार बजे रोलकलमा उपस्थित हुने कुरा थियो ।
चार बजे रोलकलमा उपस्थित हुँदा त्यस जिल्लाका इन्चार्ज सहित सिसिएम (केन्द्रिय कमिति सदस्य) कमरेडहरु पनि आएका थिए । २–३ दिन आराम गरेर बल्ल फेरि एम्बुसमा जाने कुरा भयो । र भोली पल्ट त्यहि टास्कफोर्समा आएका कमरेड ध्रुव र त्यस एरियाकि एसिएस (एरिया कमिटि सेक्रेटरी) कमरेड आस्थाको तिन महिना अघि पार्टीमा आवेदन दिएको विवाह प्रस्तावलाई विवाहमा परिणत गरिदिने निर्णय पनि भयो । त्यसपछि समयमै साँझको खाना खाएर, समयमै सुत्ने कुरा भयो ।
मलाई डायरि पढ्नमा मज्जा लागेर आयो । थप जिज्ञासा पनि बढुदै गयो । म डायरिमा फेरि लिन हुन थालें-
भोलीपल्ट बिहानमा जङ्गलको एउटा किनारामा विवाहको लागी मञ्च तयार हुँदै थियो । राता झण्डा–व्यानर, फूलमाला र अविर तयार गरि जङ्गल भित्र विवाहको मण्डप झकिझकाउ भयो । जङ्गलको बीचमा माइकबाट क्रान्तिकारी गित घन्किन थाल्यो । केहिबेर अघिको सुनसान जङ्गल रसिलो र भरिलो भयो ।
भात खाईसकेपछि सबैको विवाह स्थलमा उपस्थिति भयो । जिल्लामा कार्यरत सिसिएमहरु, जिल्ला इन्चार्ज र सेक्रेटरी अनि व्रिगेड कमिसार र (व्रिगेड कमाण्डर अर्को वचेको फोर्ससंग भएकोले) व्रिगेड भिसि (सहायक कमाण्डर) तथा वटालियनका उपलब्ध कमिसार, कमाण्डर र सहायक कमाण्डरहरुको आतिथ्यमा केटीको एरिया कमिटि र केटाको कम्पनीको आयोजनामा विवाह कार्यक्रम धुमधामले चल्दै थियो ।
मञ्चमा अतिथिहरुको आसनग्रहण पछि दुलाहा दुलहिको आशन ग्रहणको पालो आयो, एकातिरबाट दुलाहा कमरेड ध्रुब कम्ब्यक्ट लगाएका गोरो वर्णका हृष्टपुष्ट युवक आए । अर्कोतिरबाट कमरेड आस्था औषत नेपाली महिला उचाईकि गोरि पढेलेखेको छनक दिने शहरिया वान्किकि मङ्गोलियन अनुहारकी युवती आइन् । ठिक त्यसैबेला संचार सेट बज्न थाल्यो ‘टाइँ टाइँ टुँईं, टाइँ टाइँ टुँई’ ।
कार्यक्रम जारि राख्दै सेटको खवर बुझ्दा दुश्मनको ठुलो ताँती गाडी र पैदल बुटवल आइपुगेको कुरा आइएनटी (दुश्मनको जासुसीगरि रिपोर्ट दिने ग्रुप) ले संचार सेटमा जानकारी दियो । साथै भोलीसम्म धानखोलाको भुगोल पार गरेर भालुभाङ्ग पुग्ने जस्तो देखिएको कुरा पनि जानकारी गरायो ।
त्यसपछि एकाएक परिस्थितिले कोल्टा फेर्यो र दुईतिन दिन त्यँहि बस्ने जनमुक्तिसेनाका योजना छोट्टियो । अनि विवाह कार्यक्रमलाई छोट्याएर यथासिध्र खाना बनाएर खाई एम्बुस स्थल हिँडनुपर्ने भयो । युद्धकालीन विवाह भएकोले केहि छोट्याएर कार्यक्रम समापन गरियो ।
भात खाइसके पछि जनमुक्ति सेना र एरियाको व्यवस्थापक टोली एम्बुस स्थलतिर लागे । आकाशमा ताराहरु हिउँदे हुस्सुमा कहिले हराउँथे, कहिले निस्केर पिलपिल पिलपिल गर्दै टिमटिमाई रहेका थिए । घनघोर जङ्गलबाट जनमुक्ति सेना गाउँको सिरानमा पुग्दा गाउँका कुकुरहरु एक तमासले भुके । तराइको फाँटको सिरानबाटट तेर्सिएको जनमुक्ति सेना चुरेपर्वतबाटट विशाल तराइको फाँटमा निस्किएको खोलाको चेपबाटट भित्र पस्यो ।
खोलै खोला धेरैभित्र छिरेपछि खोला पारिको चुरे र वारिको महाभारत पर्वतको दोसाँधमा तेर्सिएको खोलाको बगरबाट जनमुक्तिसेना महाभारततिरको राजमार्गमा उक्लियो र प्राविधिक टिमले माइन ओच्छ्याउन थाल्यो । राजमार्गको वरिपरिको सुरक्षा ड्युटि मिलाएर अरु टोली राजमार्ग माथिको जङ्गलमा उक्लियो । आ–आफ्नो कभरिङ आर्क सुनिश्चित गरि रातभर सुत्ने ठाँउ बनाइयो ।
एट्टीवन मोर्टारको ग्रुपपनि खोला देखि पाल्लो चुरेको भुगोलमा सेटल भयो । त्यसभन्दा तल राजमार्गको सिधा पारि जिपिएमजी ग्रुप तयार भएर बस्यो । एसाल्टहरुको तल प्राविधिक ग्रुपले माइन गाड्न खनेको ‘ठ्याईं ठयाईं’ आवाजले रातको निस्तव्धता चिरिरहेको थियो । सजीलो त के थियो, भने संकटकालीन अवधी भएकोले रातपरेपछि राजमार्गमा एउटा गाडी पनि आउँदैनथ्यो ।
परिस्थितिले टक्र्याएको वाध्यताको सामु नव विवाहित ध्रुव र आस्थाको दम्पतीको सुहागरात पनि युद्धकालीन एम्बुसको सङ्घारमा जङ्गल भित्रै बित्ने भयो । झण्डै आधारात भन्दा अलिबढि पार भएपछि प्राविधिक ग्रुपले पनि काम सकेर सेल्टरको लागी निर्धारित भुगोलमा आएपछि जङ्गल सुनसान भयो । तर, त्यो रातको सन्नाटा चिरेर समय समयमा उल्लु कराउँथ्यो- ‘कुटुटु कुटुटु’ । अनि लोखर्केको अविराम आवाज गुञ्जीरहेथ्यो– ‘लोख्रोक ट्वाक, लोख्रोक ट्वाक’ ।
बिहानको मिर्मिरे सँगै राजमार्गमा गाडीहरुको ‘घाँईं घाँईं घुँईं घुँईं’ शुरु भयो । व्यवस्थापनमा आएका एरिया कमिटीका कमरेडहरु खोलापारि चुरेमा जान तलतिर झरे । त्यसै ग्रुपमा कमरेड आस्था पनि हृदयमा युद्धकालीन सुहागरातको अनुभूति पोको पारेर ओरालो झरिन ।
कालोपत्रे राजमार्ग निरन्तर व्यस्तहुँदै थियो । गाडीहरुको कालो धुँवामा रङमङगीँदै राजमार्ग सुसाउँथ्यो । बिहानीको कन्चन उघारोसँगै फेरि संचार सेटमा खवर आयो– ‘वुटवलबाट दुस्मन गाडीमा हिँड्यो ।’ यताबाट दुस्मनको निरन्तर पिछा गर्न निर्देशन गरियो । केहिबेर पछि दुश्मन साल झुण्डी काटेर गोरुसिङ्गे आइपुग्यो । अनि त्यस्को एक घण्टा पछि चन्द्रौटा आएर आधागाडीबाट र आधापैदल अधि बढ्यो । यता जनमुक्ति सेनाले दुश्मनको आगमनको व्यग्रप्रतिक्षा गर्न थाल्यो । सायद यसै एम्बुसको लागी होला, दुई दिन अघिबाट मौषम पनि खुलेको थियो । राजमार्गमा हिँड्ने गाडीको अलावा वातावरण सुनसान थियो ।
चन्द्रौटाबाट दुश्मन हिँडेको करिव ढाई घण्टा पछि वुटवलतिरबाट आउने गाडीहरु रोकिए । सायद सेनाको पछाडी परेकोले होला । भालुवाङतिरबाट आउने चाँहि आइरहेका थिए । रोडमा एकछिन सन्नाटा छायो । ठुलै आँधी आउनु अघिको सन्नाटा भनिए जस्तै भएको होला ।
राजमार्गमा दुश्मन यानीकी शाहिसेना देखियो । भालुवाङतिरको एउटा गाडी पारिको भित्ताबाट आयो र सेनाको उपल्लो कुनाबाट अघि बढ्यो । दुस्मन विस्तारै फायरिङ रेञ्ज भित्र भित्रिँदै थियो । अझै फाएर खोल्ने प्राइमेरी टास्कमा पुगिसकेको थिएन । फेरि चार पाँच वटा गाडी भालुवाङतिरबाट लस्करै आए । भिडन्तको चेपमा पर्लान भन्ने ठुलो डर थियो । तर संयोगले ती गाडीहरुपनि पार भएर गए ।
मलाई पानी प्यास लागेको थियो । त्यो विर्सेर डायरीमा हराएको थिएँ । एकछिन पढ्न छोडेर गाग्रोको पानी सारेर लोटाबाटै ठाडो घाँटी घुट्काएर फेरि पढ्न थालेँ-
दुश्मन पनि फाएर ओपन गर्न लक्षित गरिएको एरियामा प्रवेश गर्यो । खोलापारिबाट फाएरको लागी सिग्नलको झण्डा उचालियो । जनमुक्ति सेनाले माइनको धमाकाबाट फाएर खोल्यो । बीस किलोको माइनको विष्फोट भयो – ‘ढ्याम्म’ । आकाशमा चिथरा उड्यो । धमाकाले उदाएको आकाशबाट धुलो माटो ढुङ्गा झर्न थाल्यो ।
विष्फोटको आवाजको गुञ्जन गुञ्जीएर सकिएकै थिएन । तर वातावरण भने दोहोरो मुठ्भेदको फाएरिङले छोपिइसकेको थियो- ‘चटटट चटटट’ । पारिबाट जिपिएमजीले लाभा ओकेली रहेको थियो- ‘भटटट भटटट’ । एट्टीवनको गोला बर्सिन थाले- ‘ढ्याम्म १ ढ्याम्म १’ अव फाएरको आवाजको कुनै सिमा थिएन । दुश्नको भागाभाग चल्यो । जनसेनाले कटअफ गरेको भुगोलमा बचेको दुश्मनसँग मुठभेद चल्यो, भने उता छेकिएकोलाई व्लकिङ कारवाहि गरियो ।
यता राजमार्गको किलिङ रेन्जमा रहेकाहरु फाएरबाट टिक्न नसकेर खोल्सोतिर लागे । त्यहाँ गएपनि जनसेनाको प्रभावकारी हमलाको भुगोल थियो । त्यसैले त्यहाँ गएका मध्य अरुले आत्मसमर्पणको लागी हात उठाए तर दुइजना चाँहि फाएर गर्दै तल्लो गहिरो कुवा परेको ठाउँमा गए । त्यो कुवाको अगागीपट्टी ठुलो ढुङ्गो थियो । त्यहाँ कतैबाट पनि फाएरको प्रभाव पर्दैनथ्यो । उनीहरु त्यहीँ गएर फाएरिङगर्दै जम्न थाले । जनसेनाले विस्तारै उनीहरुको थाप्लोमै गएर ग्रीनेड खसाल्यो । त्यसपछि त्यो लडाईं सकियो ।
त्यसबेलासम्म छ जना दुस्मन तर्फका मरेका थिए । चार जना पकडिएका थिए भने, जनसेना तर्फ दुइजना घाइते र दुइजनाको शहादत भएको थियो ।
डाँडाको कुईनेटोमा छेकिएको दुश्मनसँग दोहोरो फाएरिङ भैरहेको थियो । तर जनसेनाले कब्जागर्न लक्षित गरिएको राजमार्गभने खाली भैसकेको थियो । अव एरियाका कमरेडहरु र जनसेनाका कमरेडहरु त्यहि राजमार्गवाट छुट्टिने भए । पारिपट्टिको एट्टिवन र जिपिएमजि ग्रुप खोला झरेर राजमार्गतिर माथि उक्लिँदै थियो । सडकमा कमरेड आस्था आएर वरपर हेर्न थालिन । उनी त्यहिबाट एरियाका कमरेडहरुसँग तराइतिर फर्कनुपर्ने थियो । आस्थालाई देखेर ध्रुवपनि राजमार्गमा झरे । दुवैले हात मिलाए र मुट्ठी उठाउँदै, दाम्पत्य जीवन शुरुवातको सम्झनालाई त्यहि कालोपत्रे राजमार्गमा अल्झाएर अर्को भेटसम्मको लागी छुट्टिएर बाटो लागे ।
हातमा घडी थिएन । एकैछिन डायरीको पढाई रोकेर कतिबेला भयो होला भनेर दिनको सुर्यको अवस्थिति हेर्न थालेँ । सुर्यको अवस्थितिले दिन घर्किन लागिसकेको अनुमानगरि डायरी सिद्ध्याउन फेरि पढ्न थालेँ-
सबैकुरा सोंचे जस्तो हुन्न । समयको मार कसलाई कसरी पर्ने हो ? कस्लाई के थाहा ? समय वित्नपनि कति वेर लाग्छ र ? उता ध्रुवलाई छातीको असह्य दुखाइले सताउन थाल्यो । दुखाईको निरन्तरतामा उनी दुव्लाउँदै अस्थिपञ्जर भए । सैनिक डक्टरहरुले पित्तको पत्थरी भएको शंका गरेका थिए । उनलाई चैत्रको महिना उपचारको लागी इण्डिया पठाइयो । उनी लखनउ गएर चेक गराउँदा पित्तथैलीको पत्थरी सहि नै ठहर्यो र पित्तको अप्रेशन गरे ।
यता कपिल वस्तुमा माओवादी प्रतिकार समिति बन्यो र माओवादी इलाकामा आतङ्क मच्चाउन थाल्यो । घर गोठ जलाउने, मान्छे मार्ने, चोरी लुटपात र बलात्कारले कपिलवस्तु आक्रान्त भयो । माओवादी कार्यकर्ताको गास वास हरायो ।
भोक भोकै दिन काट्नु पर्ने भयो । सुकिला कपडा सबै बदल्नु पर्ने भयो । स्थानिय भेषधारण गर्नुपर्ने भयो । जिन्स पैन्ट र जिन्सकै ज्याकेटमा सजिएर हिँडने आस्था कुर्ता सुरुवाल र मधिसे महिला फेसनमा विलकुल अर्कै देखिइन । आफ्नो तर्फका जनताका सयौं घरपरिवार समेतको व्यवस्थापनको चिन्ता र सन्तापले आस्थापनि दुव्लाएर सिकुटी भइन । मुखमा चायाँ बसेर अनुहारको रङनै फेरियो ।
विस्तारै विस्तारै समयको अन्तरालमा वातावरण केहि सहज भयो । बैशाखको पहिलो हप्ता फेरि जनमुक्ति सेना धानखोला रेञ्जमा कारवाहिको लागी कपिलवस्तु आयो । जनसेनाको व्यवस्थापनमा फेरि उनै आस्था खटिएर आइन । इण्डियाको उपचार सकेर ध्रुवपनि त्यहिँ व्रिगेड कार्यलयको सम्पर्कमा आए ।
ध्रव आएको केहिवेरपछि आस्थाले ध्रुव त्यहाँ आएको थाहा पाइन भने ध्रवले पनि आस्था मेशमा खटेको थाहा पाए । अप्रेशन गरेर आएको लोग्ने भेट्न मेशवाट आस्था व्रिगेड कार्यलयतिर लागीन । यता श्रीमती भेटनको लागी ध्रुव मेशतिर लागे । व्रिगेड कार्यलय र मेश व्यवस्थापन कार्यलयको वीचमा सानो खोल्सो थियो । लगभग मध्यविन्दुतिर त्यहि खोल्सोको वायाँ किनारमा पानीको मुहान थियो । त्यहाँ खानेपानी त्यै मुहानको पानी भएकोले जनसेना त्यहाँ बस्दा जहिलेपनि पानी लिन आउने जानेको भीड भै रहन्थ्यो । त्यसैले त्यहाँ भेटीने मानिसमा खासै ध्यान दिने कुरा भएन ।
आस्थापनि त्यहिँ आइपुगिन, ध्रुवपनि त्यहिँ पुगे । पानी मुलनेरबाटै उनीहरु आपसमा क्रश भएर अघिवढे । आस्था क्रस भएपछि ध्रुवलाई त्यो केटी कतैको जान पहिचान जस्तै लाग्यो । उता आस्था पनि क्रस भैसकेपछि त्यो केटो चिर परिचित जस्तै लाग्यो । तर वोलचाल नभएकोले वास्तै भएन ।
आस्था सरासर व्रिगेड कार्यलय पुगिन र ‘ध्रव खै’ भनेर सोधिन । उता ध्रुवपनि मेश व्यवस्थापन कार्यलय पुगेर ‘आस्था खै’ भनेर सोधे । मेश व्यवस्थापन र ब्रिगेड कार्यालय दुवैतिरकाको एउटै उत्तर थियो ‘तपाई लाइनै भेटन गाका हुन त, त्यहि बीचवाटोमा पानी मुलनेर भेटिनु पर्ने ।’
अनि बल्ल दुवै झल्याँस्स भए— ‘ए पानी मुलनेर चिने चिने जस्तो लाग्ने त आफ्नै साख्खैको मान्छे पो रैछन भनेर ।’
अनि आस्थाले व्रिगेड कार्यलयमै पर्खिन ध्रुव फर्किएर त्यहिँ आइपुगे । आस्थाले हाँस्दै सोधिन — ‘अघि पानी मुलनेर भेट भा को हैन र ?’
ध्रुवले पनि हाँस्दै उत्तर दिए- ‘हो त नि । कत्ति दुव्लाएकि त ?’
‘आफु नि । हाड र छालामात्र भाको थाछैन ।’ आस्थाको जवाफ थियो ।
उनीहरुको संवाद सुनेर उनीहरूलाई हेरिरहेका रमिते सबै गलल्ल हाँसे । अनि सबैले भने- ‘हुनपनि हो । पहिलो कुरा, दुबैंको दिमाकमा पुरानै छवि चित्र मात्र थियो । जो, आज जीवनको हण्डरले खल्किएर अर्कै स्वरूपमा उपस्थित भएको थियो र अलमलिए । दोश्रो कुरा, भेटनको लागी दुबै एकै पटक आउँछौं भन्ने कुराको आभास नहुनु र पानी कुवाको छेउको पानी लिन आउने जानेको भीड्मा वेवास्तामा पर्नुले पनि झुक्किए ।
डायरीको पढ्न सकिने जति भग्नावशेष यतिनै थियो । त्यसउता के लेखिएको थियो, राम जाने । तर यतिनै भएपनि पढिसकेपछिको असरले मेरो मन छटपटियो । आँखाभरि डायरिमा उल्लेखित दृश्यछविहरू झलझली आउन थाल्यो । मलाई लागिरह्यो- ‘माओवादी आन्दोलनमा ढलेका जीवन, वगेको रगत, भएका अङ्गभङ्ग, वेपत्ताहरुको अज्ञात स्थिति र नाश भएको धनसम्पत्ति भन्दा ‘आफ्ना परम प्रिय र परमप्यारी’ समेत भुलिनेगरि गरेको यो त्याग र वलिदान कुनैपनि मापणमा चानचुने थिएन । परन्तु, अहिले त्यो सवै, नेताहरुको भजाएर खाने सत्ता स्वार्थको औजार मात्र वन्यो ।’

