जय नेपाल स्पोर्ट्सले धादिङमा तेक्वान्दो प्रतियोगिता गर्दै

Avatar photo
Dhadingpost
जेष्ठ १०, २०८३

धादिङ । जय नेपाल स्पोर्ट्सले धादिङ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता २०८३ आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी जेठ १६ र १७ गते धादिङबेसीमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपाल तेक्वान्दो संघमा आबद्ध खेलाडीहरूले सहभागिता जनाउन पाउनेछन् । खेल विश्व तेक्वान्दो महासंघ तथा नेपाल तेक्वान्दो संघको नियमअनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता हाफ सेन्सर सिस्टममा खेलाइनेछ भने खेलाडीहरूले सेन्सर सक, लेगार्ड, ह्यान्डगार्ड र ग्रोइनगार्डको व्यवस्था आफैं गर्नुपर्नेछ । प्रतियोगितामा सहभागी खेलाडीहरूको तौल जेठ १६ गते बिहान लिइने जनाइएको छ ।

आयोजकका अनुसार प्रतियोगिताका लागि टिम दर्ता जेठ १४ गतेसम्म गर्नुपर्नेछ । खेलका क्रममा खेलाडी घाइते भएमा सामान्य उपचारबाहेक अन्य जिम्मेवारी खेलाडी तथा प्रशिक्षक स्वयंको हुने उल्लेख गरिएको छ ।

प्रतियोगितामा पुरुष तथा महिला दुवै समूहका विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराइनेछ । पुरुषतर्फ यू-२० केजीदेखि यू-६४ केजीसम्म तथा महिलातर्फ यू-२० केजीदेखि यू-५९ केजीसम्मका तौल समूह समावेश गरिएको आयोजक संस्थाका अध्यक्ष अनिश अधिकारीले जानकारी दिए ।