जाम हटाउन काँग्रेसको सिडियोलाई ज्ञापनपत्र

Avatar photo
Dhadingpost
अशोज १०, २०७६

धादिङ असोज १० । विगत केहि दिन देखि नागढुङ्गा सडक खण्डमा सवारी जामले यात्रु हैरानीमा परेको भन्दै जाम खुलाउन नेपाली काँग्रेस धादिङले सिडियोलाई ज्ञापन पत्र बुझाएको छ ।

नागढुंगा लगायतका सडकखण्डहरुमा विगत केही दिनदेखि भइरहेको सवारी तथा मालवाहक साधनको चरम अस्तव्यस्तता र यसबाट यात्रुहरुले भोग्नुपरेको कष्टकर यात्राप्रति नेपाली कांगे्रस धादिङको गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई काँग्रेसले ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा भनिएको छ- सामान्यतः आधा घण्टामा पार गर्न सकिने उक्त सडकखण्डमा चाडपर्वको महत्वपूर्ण समयमा घण्टौसम्म अलपत्र पर्नु पर्ने वाध्यताले एकातिर यात्रुहरु समयमै गन्तव्यमा पुग्न सकेका छैनन्, बिरामी पर्न थालेका छन् र बिरामीहरुको बिचल्ली भएको छ, स्थानीय क्षेत्रमा खाद्य तथा पेय पदार्थ महंगो मूल्यमा खरीद गर्न बाध्य छन् ।

भ्रमण वर्ष २०२० को संघारमा रहँदै गर्दा र पर्यटकहरुको आगमन हुने महत्वपूर्ण समयमा सडक र सवारीको यस खालको चरम बेथितिले पर्यटन क्षेत्रमा गम्भीर असर परेको छ । अर्कोतिर उपभोग्य वस्तुहरुको सहज आपूर्ति हुन नसक्दा बजारमा चरम अभाव र विचलन सिर्जना हुने खतरा छ ।

यस्तो गम्भीर अवस्था सिर्जना हुँदासम्म समाधानका लागि सरकार र स्थानीय प्रशासनले प्रभावकारी र परिणाममुखी भूमिका निर्वाह नगरी देखाईएको गैरजिम्मेवारप्रति नेपाली कांग्रेस धादिङ दुःख व्यक्त गर्दछ । र तत्काल परिणाम अनुभूति हुने कदम चाल्न स्थानीय प्रशासनसँग जोडदार आग्रह गर्दछ, र, यसका लागि नेपाली कांग्रेस धादिङको पूर्ण सहयोग रहने जानकारी गराउँदछ । अन्यथा नेपाली कांग्रेस धादिङ आफै सवारी तथा मालवाहक साधनको यो अस्तव्यस्तता र बेथिति अन्त्य गर्न जस्तोसुकै कदम चाल्न बाध्य हुने जानकारी गराउँदछ ।