
धादिङ असोज ४ । नीलकण्ठ नगरपालिकाका प्रमुख एवम् नेपाली काँग्रेस धादिङका नेता भिम प्रसाद ढुङ्गानाले विकास र समृद्धी सहमति र एकता अनिवार्य भएको बताएका छन् ।
पोखरा सम्पर्क समाजको २१ औं साधारणसभा उद्घाटन गर्दै ढुंगानाले विकास र समृद्धिको नारा सहमति र एकता बिना सम्भव नहुने बताएका हुन् ।
विकास र समृद्धि कुनै पार्टीको नारा नभई मुलुकको आवश्यकता भएको बताउँदै दलगत मानशिकताले घर गर्दा समाजले सोच अनुरुप विकासले गति नलिएको समेत प्रमुख ढुङ्गानाले बताएका थिए ।
‘म संग एउटा पार्टीको आस्था छ, हामी सबैसंग पनि त्यो आस्था हुनु स्वभाविक पनि हो’, उनले भने, ‘हामी जनप्रतिनिधि र समाजसेवीले राजनीति आस्था र विचार त्याग्न आवश्यक छ ।’
संघीय सरकारले दिएका केही कानून अझै पनि स्थानीय तहले कार्यान्वयन गर्न नपाउँदा समस्या भएको भन्दै इतिहासकै बलियो सरकार भ्रष्टाचार र दण्डहीनतामा चुर्लुम्म पौडी खेलिरहेको छ यसले समृद्ध नेपाल बन्छ ढुङ्गानाले प्रश्न गरेका छन् ।
समाजका पूर्व अध्यक्ष डा. ठाकुर सिलवाल, हरि अर्याल र नि.वर्तमान अध्यक्ष युवराज खतिवडाले समाज अघि बढाउन निकै संघर्ष गर्नुपरेको स्मरण गर्दै अहिले समाज यो अवस्थामा आइपुग्दा गर्वले छाती निकै चौडा भएको बताएका थिए ।
समाजका अध्यक्ष कृष्णबहादुर लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मोहन पण्डितले स्वागत, महासचिव रामप्रसाद पाण्डे राजुले सञ्चालन र कार्यक्रम संयोजक सरस्वती श्रेष्ठ सरुले कार्यक्रमबारे जानकारी गराएका थिए ।

