
काठमाडौं असार २ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) परीक्षाको नतिजा असार दोस्रो साता भित्र सार्वजनिक गर्ने भएको छ ।
बोर्डले छिटोमा असार १० गते ढिलोमा असार १४ गतेसम्म नतिजा सार्वजनिक गर्नेगरी काम गरिरहेको बताएको हो ।
देश भरका उत्तरपुस्तिका परीक्षण सम्पन्न गरेर नम्बर इन्ट्रीको काम भइ रहेको जानकारी दिँदै बोर्डका परीक्षा उपनियन्त्रक चेतनाथ शर्माले ढिलोमा असार दोस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने लक्ष्य लिइएको बताए ।
गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष भने प्रदेश २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गर्नुपरेको र कर्मचारी समायोजनका कारण कर्मचारीको अभाव भएकाले नतिजा प्रकाशनमा केही दिन ढिला हुने भएको बोर्डले जनाएको छ ।
यस वर्ष गत चैत १० गतेबाट सुरु भएको एसइई परीक्षामा नियमिततर्फ ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् ।
