
धादिङ जेष्ठ २८ । नेपाल पत्रकार महासंघले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको विरोध गर्दै तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
पत्रकार महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै तेस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् । विष्टद्वरा हस्ताक्षरित विज्ञप्तिमा मध्यान्हमै लाल्टिन जुलुश निकाल्ने देखि सिटी जुलुशसम्मका आन्दोलनहरू समावेश गरिएको छ ।
महासंघले आगामी असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा देशव्यापी हस्ताक्षर अभियान चलाउने, ६ गते संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमा बुझाउने, १० गते कार्टुन प्रदर्शन गर्ने, १५ गते जिल्लाका सबै शाखाहरूबाट आफ्ना क्षेत्रका सांसदहरूलाई सन्देश पठाएर ध्यानाकर्षण गर्ने, २० गते प्रेस स्वतन्त्रता सभाको आयोजना गर्ने, २५ गते दिउँसै लाल्टिन जुलुश गर्ने र ३० गते देशव्यापी सिटी जुलुश र सभा गर्ने कार्यक्रम तय गरेको छ ।
तेस्रो चरणको आन्दोलनका लागि महासंघले देशव्यापी हस्ताक्षर संकलनदेखि लिएर देशव्यापी सिटी जुलुशसम्मको कार्यक्रम घोषणा गरेको छ । प्रेस स्वतन्त्रता र यसको विश्वव्यापी मान्यताविपरित हुने गरी ल्याइएको विधेयकलाई फिर्ता गरी सरोकारवाला निकायहरूसँग छलफल गरी समस्याको समाधान गर्नुपर्ने महासंघले अडान राख्दै आएको छ ।

