नेपालमा पनि चक्रवात ‘फानी’ को प्रभाव देखिन सुरु

Avatar photo
Dhadingpost
बैशाख २०, २०७६

धादिङ बैशाख २० । भारतको ओडिसामा ‘फानी’ नामक सामुद्रिक आँधीको प्रभाव नेपाललमा पनि देखिन थालेको छ ।

बंगालको खाडीबाट विकसित भएको फानी भारतको ओडिसामा आइपुगेको छ । यसकै प्रभावले पूर्वको थोरै ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यो चक्रवात नेपालमा नआउने तर भारतको ओडिशा, झारखण्ड, पश्चिम बंगाल हुँदै बंगलादेश जाने भएकाले पूर्वी र मध्य नेपालमा असर गर्ने देखिएको छ ।

चक्रवात फानीको प्रभावले पूर्व र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले अबको तीन दिन पदयात्रा वा हिमाल आरोहणमा नजान मौसमविद्ले सुझाव दिएका छन् ।

अहिले रुपन्देही, कपिलवस्तुलगायत प्रदेश ५ को सीमा क्षेत्रमा चट्याङ र हुरीबताससहित पानी पारिरहेको प्रणाली पनि पूर्वतिर सरिरहेको महाशाखाले जनाएको छ । आज देशभरिकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना कम रहेको मौसमविद् विभूति पोख्रेलले बताए ।

पश्चिममा पश्चिमी वायु तथा पूर्व र मध्य क्षेत्रमा फानी सँगै स्थानीय वायुको प्रभावले हुरीबतास, चट्याङसहित हिमपात हुने सम्भावना छ रहने समेत पोख्रेलले बताए ।

आँधीको असरलाई मध्यनजर गर्दै ओडिसामा हवाई उडान रद्द गरिएका छन् भने रेल चल्न पनि रोक लगाइएको छ । यो आँधी ओडिसामा स्थानीय समयअनुसार मध्याह्न १२ बजेसम्म जारी रहनसक्ने त्यहाँका मौसमविद्हरुले बताएका छन् । ओडिसाका झन्डै १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।